काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको आकस्मिक कक्षबाहिर एम्बुलेन्समै मृत्यु भएको छ ।
नियमित डायलिसिस गराउँदै आएका थापालाई स्ट्रोकको समस्या देखिएपछि शुक्रबार उपचारका लागि अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार आकस्मिक कक्षको रेड एरियामा बेड खाली नभएकाले केही समय बेड व्यवस्थापनका लागि चिकित्सकले आग्रह गरेका थिए ।
तर, आफन्तले बिरामीलाई केएमसी अस्पताल लैजाने बताएका थिए । त्यसपछि बिरामीलाई एम्बुलेन्ससम्म पुर्याइएको र करिब १०–१५ मिनेटमै अवस्था गम्भीर भई मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले बताए ।
अस्पताल प्रशासनले बिरामीलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकीय परीक्षण गर्नसमेत नपाइएको जनाएको छ । अस्पतालले आकस्मिक कक्षमा बिरामीको अत्यधिक चाप रहेकाले रेड र येलो एरिया भरिभराउ अवस्थामा रहेको बताएको छ ।
बिरामीको मृत्यु भएपछि आफन्तले ‘बेड नपाएका कारण मृत्यु भएको’ भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् । घटनाबारे अस्पताल प्रशासनले थप विवरण बुझिरहेको जनाएको छ ।


