राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चयकोषबीच एमओयू, सेवा प्रवाह थप डिजिटल हुने
काठमाडौं । राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चयकोषबीच सूचना तथा सेवा आदानप्रदानका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यससँगै दुवै निकायका प्रणालीबीच अन्तरआबद्धता (Interoperability) विस्तार गर्ने नीतिगत बाटो खुलेको छ, जसले राष्ट्रिय किताबखानाका डिजिटल तथा फेसलेस सेवाहरूलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।
महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार संयुक्त प्राविधिक टोलीले एपीआई (API) विकास गरेपछि नयाँ नियुक्त कर्मचारीको शिटरोल दर्ता, संकेत नम्बर र सञ्चयकोष नम्बर स्वतः सिर्जना हुने व्यवस्था लागू हुनेछ। साथै, ई–पेन्सन सेवामार्फत अवकाशप्राप्त कर्मचारीको पेन्सनसँगै सञ्चयकोषको रकम पनि एकैपटक सम्बन्धित खातामा जम्मा हुने सुविधा उपलब्ध हुनेछ।
समझदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र कर्मचारी सञ्चयकोषका निमित्त प्रशासक जीवनकुमार कटुवालले हस्ताक्षर गरेका छन्।