काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ।
शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एकता हुने भन्ने हल्लामा विश्वास नगर्न कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गर्नुभयो। नेता नेपालले वर्तमान अवस्थामा देशभक्त, क्रान्तिकारी, लोकतान्त्रिक तथा गणतन्त्र पक्षधर शक्तिहरूलाई एकताबद्ध गर्नु नै पार्टीको मुख्य कार्यभार रहेको बताउनुभयो।
उहाँले राष्ट्रिय हित, जनहित र गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको उल्लेख गर्दै ‘वैज्ञानिक समाजवाद’ र ‘नेपाली विशेषताको समाजवाद’ को अवधारणाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सबै परिवर्तनकारी शक्तिहरूलाई एक ठाउँमा ल्याएर मुलुकको रूपान्तरणमा लाग्ने बताउनुभयो।