काठमाडौं । नयाँ सरकार गठनपछि देखिएको उत्साह कमजोर बन्दै जाँदा सेयर बजार निरन्तर दबाबमा परेको छ। बजार पुँजीकरण करिब ५० खर्ब १८ अर्ब रुपैयाँबाट घटेर ४६ खर्ब १७ अर्ब रुपैयाँमा झरेको छ, जसले लगानीकर्ताको सम्पत्तिमा ४ खर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको देखिन्छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार दैनिक बजार उतारचढावभन्दा दीर्घकालीन आर्थिक सुधार र स्थायित्वमा केन्द्रित रहेको बताएका छन्। उनले सेयर बजार र बीमा क्षेत्रमा भएका अनियमिततासम्बन्धी अनुसन्धानले लगानीकर्तामा अस्थायी अन्योल सिर्जना गरेको स्वीकार गरे।
यता नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रिया विवादका कारण रोकिँदा करिब ६९ अर्ब रुपैयाँ बराबरका आईपीओ निष्कासन प्रक्रिया प्रभावित भएका छन्। यसैबीच साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको छ भने कारोबार रकम ४ अर्ब ५३ करोड रुपैयाँ नाघेको छ।

