काठमाडौं ।नवनियुक्त दुई मन्त्री सुधन गुरुङ र महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार गुरुङलाई गृह मन्त्रालय र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरेका थिए।
शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
यसअघि गृह मन्त्रालय सम्हालिरहेका सुधन गुरुङ सम्पत्ति सम्बन्धी विवादमा तानिएपछि पदमुक्त भएका थिए। पछि गठित छानबिन समितिले उनलाई “क्लिन चिट” दिएको आधारमा पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।
त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व पाएका महावीर पुन लामो समयदेखि ग्रामीण प्रविधि, नवप्रवर्तन र अनुसन्धान क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनको नियुक्तिलाई प्राविधिक नवप्रवर्तन र अनुसन्धानमा राज्यको प्राथमिकता बढ्ने संकेतका रूपमा हेरिएको छ।

