काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेको समयसीमालाई अन्तिम म्यादका रूपमा कायम गरेको छ। समितिको बैठकले आगामी १५औँ महाधिवेशनलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने निर्णय गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको हो।
हालसम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजारभन्दा बढी सदस्यमध्ये ४ लाख १७ हजारभन्दा बढीले सदस्यता प्राप्त गरिसकेका छन् भने ९८ हजारभन्दा बढीले अद्यावधिक फाराम पेश गरेका छन्। बैठकले महाधिवेशनमा सहभागी हुन विशिष्ट पहिचान नम्बरलाई आधार बनाउने तथा एकीकृत डिजिटल सदस्यता प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, अन्य दलमा प्रवेश गरेका तथा पार्टीविरुद्ध गतिविधिमा संलग्न व्यक्तिहरूको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने निर्णय गरिएको समितिले जनाएको छ।

