नयाँ मुख्य सचिव नियुक्तिको काउन्टडाउन सुरु, प्रधानमन्त्री शाहको नजर निष्कलंक, अनुशासित र परिणाम दिने सचिवतर्फ

 शक्तिकेन्द्र धाउने संस्कृतिमा ब्रेक, काम गर्ने सचिव प्रधानमन्त्रीको प्राथमिकतामा


सागर पण्डित, काठमाडौं । सिंहदरबार यतिबेला एउटा प्रश्नमा केन्द्रित छ— नेपाल सरकारको ३०औं मुख्य सचिव को बन्ला ?
मुख्य सचिव सुमनराज अर्याल यही असार २६ गते ५८ वर्षे उमेरहदका कारण सेवा निवृत्त हुँदैछन् । त्यससँगै मुलुकको सर्वाधिक शक्तिशाली प्रशासनिक कुर्सी मानिने मुख्य सचिव पदमा को पुग्ला भन्ने बहस यतिबेला सिंहदरबारदेखि प्रशासनिक वृत्तसम्म तीव्र बनेको छ । तर यसपटकको प्रतिस्पर्धा विगतभन्दा फरक, असामान्य र अप्रत्यासित समेत हुन सक्ने अनुमान गरिएको छ ।यद्यपि जेष्ठ सचिवहरुमध्ये बाटै एकजनाले मुख्य सचिवमा बाजी मार्ने स्रोतको दावी छ ।

विगतमा मुख्य सचिव बन्न महिनौंअघि देखि शक्तिकेन्द्र धाउने, राजनीतिक पहुँच बढाउने, नेताका घर धाउने र तीव्र ‘लबिङ’ चल्ने गर्थ्यो । तर यसपटक त्यो दृश्य लगभग गायब छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीकै कारण यसपटक “दौडधूप संस्कृति” कमजोर बनेको हो ।

प्रधानमन्त्री शाह सुशासन, अनुशासन र परिणाममुखी प्रशासन निर्माणको अभियानमा देखिएकाले उहाँले कुनै विवादमा नपरेको, स्वच्छ छवि भएको, फाइलमा भन्दा परिणाममा काम गर्ने र कमिलाजस्तै अनुशासित ढंगले प्रशासन चलाउन सक्ने सचिव खोजिरहेको चर्चा सिंहदरबारमा व्याप्त छ ।

“यसपटक जो शक्तिकेन्द्र नजिक पुग्न खोज्छ, उसकै सम्भावना झन् कमजोर बन्छ,” सरकारकै एक उच्च अधिकारीले प्रशासनपोस्टसँग भने, “प्रधानमन्त्रीको प्राथमिकता चुपचाप काम गर्ने, इमान्दार र परिणाम दिने सचिवमा देखिन्छ ।” सम्भवतः प्रधानमन्त्रीले आफ्नो जस्तै स्वभाव भएको र चुपचाप काम गरेर परिणाम दिने व्यक्तिको खोजी गरिरहेको ती अधिकारीको विश्लेषण छ ।

निजामती सेवामा प्रवेश गर्ने अधिकांश कर्मचारीको अन्तिम सपना मुख्य सचिव बन्नु नै हुन्छ । तर राजनीतिक परिस्थिति, भाग्य, शक्ति समीकरण र समयका कारण त्यो अवसर निकै सीमित व्यक्तिले मात्रै पाउने गरेका छन् । यसपटक त्यो अवसर कुन भाग्यमानीको पोल्टामा पर्छ भन्ने उत्तर अबको ३३ दिनभित्र स्पष्ट हुनेछ ।

हालका मुख्य सचिव सुमनराज अर्यालभन्दा अगावै तीन वरिष्ठ सचिव सेवा निवृत्त हुँदैछन् ।सचिव मधुसुदन बुर्लाकोटी असार २१ गते सचिव पदको पाँचवर्षे अवधि पूरा गरी सेवा निवृत्त हुँदैछन् । सचिव प्रमिलादेवी बज्राचार्य असार १७ गते तथा सचिव कृष्णहरि पुश्कर असार २४ गते अवकाशमा जाँदैछन् । त्यसैले उनीहरू मुख्य सचिवको प्रतिस्पर्धाबाट लगभग बाहिरिएका छन् ।अब मुख्य प्रतिस्पर्धा बाँकी रहेका जेष्ठ नौ सचिवबीच केन्द्रित देखिएको छ ।

वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा छन् । त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयका हरिप्रसाद मैनाली, स्वास्थ्य मन्त्रालयका डिल्लीराम शर्मा, वन मन्त्रालयका गोविन्दप्रसाद शर्मा, गृह मन्त्रालयका राजकुमार श्रेष्ठ, पुर्वाधर विकास मन्त्रालयका गोपाल सिग्देल, राष्ट्रिय योजना आयोगका रविलाल पन्थ, उद्योग मन्त्रालयका कृष्णबहादुर राउत, लोकसेवा आयोगका रामेश्वर दंगाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मुकुन्दप्रसाद निरौला मुख्य प्रतिस्पर्धामा छन् ।

यी सबै सचिव करिब उस्तै समयमा सचिवमा बढुवा भएका हुन् । निजामती सेवा ऐनको दफा १९(२)(क) अनुसार बहालवाला सचिवहरूमध्ये जेष्ठता र कार्यकुशलताको आधारमा नेपाल सरकारले मुख्य सचिव चयन गर्न सक्ने व्यवस्था छ । यही कानुनी प्रावधानभित्र रहेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।
यद्यपि, सिंहदरबारमा अहिले एउटा बलियो सन्देश प्रवाह भइरहेको छ— “यसपटक जेष्ठता मात्रै पर्याप्त छैन ।”प्रधानमन्त्री शाहले कार्यसम्पादन मूल्यांकन, प्रशासनिक क्षमता, नैतिक छवि, इमान्दारिता, निर्णय क्षमता र सुशासनप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाउन सक्ने चर्चा छ । त्यसैले मुख्य सचिवमा जोसुकै नियुक्त भए पनि धेरैलाई आश्चर्य नलाग्ने अवस्था बनेको छ ।

यदि वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका किरणराज शर्मा मुख्य सचिव बने भने उनले २०८४ कार्तिकसम्म कार्यकाल पाउनेछन् । त्यस अवधिसम्म अहिले प्रतिस्पर्धामा रहेका अन्य सबै आठ सचिव सचिव पदको पाँचवर्षे अवधि पूरा गरी सेवा निवृत्त हुनेछन् ।

तर यदि शर्मा मुख्य सचिव बन्न सकेनन् भने उनी स्वयं आगामी साउन ४ गते सचिव पदको पाँचवर्षे अवधि पूरा गरी अवकाशमा जानेछन् ।त्यसपछि मुख्य सचिव बन्न नसक्ने अवस्था आएमा हरिप्रसाद मैनाली साउन १९ गते, गोविन्दप्रसाद शर्मा साउन २५ गते, डिल्लीराम शर्मा भदौ ३ गते, राजकुमार श्रेष्ठ भदौ १६ गते, गोपाल सिग्देल असोज १४ गते, रविलाल पन्थ असोज १९ गते, कृष्णबहादुर राउत पुस २१ गते, रामेश्वर दंगाल माघ १७ गते र मुकुन्दप्रसाद निरौला फागुन ५ गते सेवा निवृत्त हुनेछन् ।

अर्थात्, अहिलेको दौडमा रहेका नौ जनामध्ये जो मुख्य सचिव बन्छन्, बाँकी आठ जनाको मुख्य सचिव बन्ने सपना सधैंका लागि समाप्त हुनेछ ।हाल सचिव रहेका लोकनाथ पौडेल, बाबुराम अधिकारी र महादेव पन्थ पनि केही समयभित्रै ५८ वर्षे उमेरहदका कारण अवकाशमा जाँदैछन् । पौडेल साउन ७ गते, अधिकारी भदौ ४ गते र पन्थ माघ १ गते सेवा निवृत्त हुने भएकाले उनीहरू मुख्य सचिवको दौडमा खासै बलिया दाबेदार मानिएका छैनन् । यद्यपि संघीय निजामती सेवा ऐनमा उमेर हद ६० पुर्‍याइएमा उहाँहरुको पनि सम्भावना रहन सक्ने बताइएको छ ।

यता, संघीय निजामती सेवा ऐन ल्याउने सरकारी तयारीले पनि मुख्य सचिवको समीकरणलाई प्रभावित पार्न सक्छ ।यदि सरकारले चर्चामा रहेको ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको व्यवस्था असार मसान्तअघि नै लागू गर्‍यो भने अहिलेको समीकरण पूर्ण रूपमा उलटपुलट हुन सक्छ । त्यस्तो अवस्थामा किरणराज शर्मा, हरि मैनाली, गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा, राजकुमार श्रेष्ठ र गोपाल सिग्देल तत्काल अवकाशमा जानुपर्ने अवस्था आउन सक्छ ।

त्यसपछि जेष्ठताका आधारमा रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला मात्रै मुख्य सचिवको दौडमा बाँकी रहने सम्भावना देखिन्छ ।
तर ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको प्रस्तावप्रति निजामती कर्मचारीभित्र व्यापक असन्तुष्टि र विरोध बढिरहेका कारण सरकारले तत्कालै यस्तो व्यवस्था लागू गर्ने सम्भावना भने कमजोर हुँदै गएको स्रोतहरूको दाबी छ । त्यसैले माथिका ९ जना नै मुख्य प्रतिस्पर्धी देखिएका र उनीहरु मध्ये एकले नै मुख्य सचिवमा बाजी मार्न सक्ने दावी स्रोतको छ ।

मुख्य सचिवको प्रतिस्पर्धामा अहिलेका नौ सचिवपछि दोस्रो तहमा श्रम मन्त्रालयका सचिव दीपक काफ्ले, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी तथा त्यसपछि सचिव बनेका घनश्याम उपाध्याय, दिनेश घिमिरे , राधिका अर्याल, विश्वबाबु पुडासैनी , चूडामणि पौडेल,केदारनाथ शर्मा,गोविन्द बहादुर कार्की, लक्ष्मी कुमारी बस्नेत, अमृत बहादुर राई लगायतका सचिवहरुलाई पनि भावी मुख्य सचिवको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

नेपालको प्रशासनिक इतिहासमा हालसम्म २९ जना मुख्य सचिव बनिसकेका छन् । चन्द्रबहादुर थापादेखि सुरु भएको यो श्रृंखलामा कुलशेखर शर्मा, कृष्णबम मल्ल, क्षेत्रविक्रम राणा, प्रद्युम्नलाल राजभण्डारी, कृष्णबहादुर मानन्धर, भोगेन्द्रनाथ रिमाल, कर्णध्वज अधिकारी, लोकबहादुर श्रेष्ठ, दामोदरप्रसाद गौतम, मधुसुदनप्रसाद गोर्खाली, ईश्वरप्रसाद उपाध्याय, बलरामसिंह मल्ल, तीर्थमान शाक्य, केशवराज राजभण्डारी, विमल कोइराला, लोकमानसिंह कार्की, मुकुन्द शर्मा पौडेल, डा. भोजराज घिमिरे, माधवप्रसाद घिमिरे, लीलामणि पौड्याल, डा. सोमलाल सुवेदी, राजेन्द्रकिशोर क्षेत्री, लोकदर्शन रेग्मी, शंकरदास बैरागी, डा. वैकुण्ठ अर्याल, लीलादेवी गड्तौला, एकनारायण अर्याल र हालका मुख्य सचिव सुमनराज अर्याल रहिसकेका छन् ।

अब प्रश्न एउटै छ— नेपालको ३०औं मुख्य सचिव को बन्नेछ ?
उत्तर असार २६ ले दिनेछ । तर त्यो उत्तरले केवल एउटा व्यक्ति चयन गर्ने छैन, प्रधानमन्त्री शाहको सुशासनको मार्गचित्र कस्तो प्रशासनिक नेतृत्वमार्फत अघि बढ्छ भन्ने नीकै महत्वपूर्ण विषयको पनि निक्र्यौल हुनेछ ।

२०८३ जेष्ठ २३, शनिबार ११:३२ प्रकाशित
ट्रेन्डिङ समाचार