तलब, भत्ता र ग्रेड जोड्दा कसको ‘फाइनल तलब’ कति ?कार्यालय सहयोगीले ४९ हजारसम्म, मुख्य सचिवले १ लाख ३ हजार रुपैयाँभन्दा बढी बुझ्ने


काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको तलब तथा सुविधामा उल्लेख्य वृद्धि गरेपछि कर्मचारी वृत्तमा उत्साह थपिएको छ।

सरकारले कर्मचारीको आधारभूत (बेसिक) तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै बढेको तलबमा थप १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ। महँगी भत्ता यथावत् राखिएको छ। यसरी तलब, प्रोत्साहन भत्ता, महँगी भत्ता तथा ग्रेड रकम जोड्दा कर्मचारीको वास्तविक मासिक पारिश्रमिकमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने देखिएको छ।

नयाँ व्यवस्थाअनुसार  पाँचौ स्तरका पुराना कार्यालय सहयोगीले मासिक अधिकतम ४९ हजार २४६ रुपैयाँ सम्म बुझ्ने भएका छन्।  प्रथमस्तरका नयाँ कार्यालय सहयोगीले भने ३६ हजार ४ सय ५३ बुझ्नेछन्।  त्यस्तै राष्ट्रसेवक कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव को मासिक पारिश्रमिक १ लाख ३ हजार ३१५ रुपैयाँ पुग्ने भएको छ।

यी रकममा सम्बन्धित पदको अधिकतम ग्रेड, महँगी भत्ता तथा प्रोत्साहन भत्ता समावेश गरिएको छ। कर्मचारीको ग्रेड संख्या फरक /फरक हुने भएकाले सेवा अवधि र ग्रेडका आधारमा वास्तविक प्राप्त रकममा केही अन्तर पर्न सक्नेछ।

सरकारले लामो समयदेखि तलब पुनरावलोकनको माग गरिरहेका कर्मचारीलाई सम्बोधन गर्दै तलब वृद्धिसँगै प्रोत्साहनमा आधारित पारिश्रमिक प्रणालीलाई समेत जोड दिएको जनाएको छ। बजेट घोषणापछि कर्मचारी संगठनहरूले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन्, यद्यपि बढ्दो महँगीको तुलनामा अझै थप सुधार आवश्यक रहेको धारणा पनि व्यक्त हुन थालेको छ।

२०८३ जेष्ठ १६, शनिबार ०७:४५ प्रकाशित
ट्रेन्डिङ समाचार