५६ जनामाथि धितोपत्र कारोबार रोक्का गर्न सिआईबीको पत्र


काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी दिपक भट्टमाथि भइरहेको अनुसन्धानका क्रममा ५६ जना व्यक्तिको धितोपत्र बजारमा भएको लगानी तथा कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेको छ। सीआईबीले जेठ ११ गते पत्राचार गर्दै अनुसन्धानमा सहयोग गर्न उच्च पदस्थ व्यक्ति, सञ्चालक तथा लगानी समिति सदस्यहरूको कारोबार विवरण मागेको हो।

कारोबार रोक्का गरिएका व्यक्तिहरुमा हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक र लगानी समिति सदस्यहरू रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार दिपक भट्टले करिब ४ अर्ब रुपैयाँ बराबरको धितोपत्र कारोबार गैरकानुनी रूपमा गरेको देखिएको छ। उनले नेपाल पुनर्बीमा कम्पनीको ठूलो परिमाणमा शेयर खरिद–बिक्री गरेको तथा विभिन्न डिबेञ्चरमा समेत लगानी गरेको अनुसन्धानमा खुलेको छ।

भट्टले गरेको धितोपत्र कारोबारको रकम विभिन्न कम्पनीहरूको नामबाट भृकुटी स्टक ब्रोकिङ कम्पनीको बैंक खातामा जम्मा भएको देखिएपछि सीआईबीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

२०८३ जेष्ठ १४, बिहीबार १९:५५ प्रकाशित
ट्रेन्डिङ समाचार