कोरला सडक कालोपत्रका लागि ३ अर्ब १५ करोड स्रोत सहमति
काठमाडौं ।
मुस्ताङको छुसाङदेखि घमीसम्मको ४०.२० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयले ३ अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति दिएको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त योजना अघि बढाइएको हो ।
मन्त्रिपरिषद्को अनुमोदनपछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया सुरु हुने आयोजना प्रमुख तेजस्वी शर्माले बताएका छन् । यसअघि कागबेनी–छुसाङ खण्डको स्तरोन्नति तथा कालोपत्रको काम सुरु भइसकेको छ । चीन जोड्ने रणनीतिक व्यापारिक मार्गका रूपमा कोरला नाका सडकलाई चरणबद्ध रूपमा विकास गर्ने लक्ष्य आयोजनाको रहेको छ ।