पाँच वर्षभित्र ८० प्रतिशत जनसंख्यामा ५० एमबीपीएस ब्रोडब्यान्ड


काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र ८० प्रतिशत जनसंख्यामा न्यूनतम ५० एमबीपीएस गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्य लिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको ‘एकीकृत दूरसञ्चार नीति २०८३’ को मस्यौदामा १० वर्षभित्र ९८ प्रतिशत जनसंख्यामा ५० एमबीपीएस ब्रोडब्यान्ड पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ।

हाल फिक्स्ड ब्रोडब्यान्डको पहुँच ११.३२ प्रतिशत र वायरलेस ब्रोडब्यान्डको पहुँच ०.११ प्रतिशत मात्रै रहेको प्राधिकरणको तथ्यांक छ। मोबाइल ब्रोडब्यान्डको पहुँच भने ८८ प्रतिशत पुगेको छ।

नयाँ नीतिले फोरजीको गति बढाउने तथा फाइभजी प्रविधिमार्फत मोबाइल ब्रोडब्यान्डको गुणस्तर सुधार गर्ने लक्ष्य लिएको छ। प्राधिकरणले फाइभजी सञ्चालनका लागि सेवाप्रदायकसँग कार्ययोजना मागिसकेको जनाएको छ।

नीति स्वीकृत भएको तीन वर्षभित्र उपभोक्ताले सेवाप्रदायक छनोट गर्न पाउने व्यवस्था गर्ने तथा दूरसञ्चार क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिताको व्यवस्था गर्ने प्रस्तावसमेत मस्यौदामा छ।

२०८३ भाद्र ७, आईतवार १९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार