काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका अनुसार समीक्षा वर्ष २०८२/८३ मा भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो।
यस अवधिमा ३ अर्ब ८७ करोड ७४ लाख युनिट विद्युत् निर्यात गरिएको छ भने आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयात खर्च १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेसँगै नेपालले विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत गरेको प्राधिकरणले जनाएको छ।
जलविद्युत् उत्पादन वृद्धि, सीमापार प्रसारण लाइन विस्तार र प्रभावकारी ऊर्जा व्यवस्थापनका कारण नेपाल ऊर्जा निर्यातमा ऐतिहासिक सफलता हासिल गर्न सफल भएको प्राधिकरणको निष्कर्ष छ।
२०८३ श्रावण ७, बिहीबार ०९:३४ प्रकाशित

