राहदानी विभागका नियमित सेवा दुई दिन बन्द


काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमा स्तरोन्नति गर्ने तयारीका कारण असार २५ र २६ गते राहदानीसम्बन्धी नियमित सेवाहरू बन्द गर्ने भएको छ।

विभागले बुधबार सूचना जारी गर्दै नियमित सेवा स्थगित भए पनि तयार भइसकेका राहदानी वितरण कार्य भने निरन्तर रहने जनाएको छ।

विभागका अनुसार असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी भइरहेको छ। सोही क्रममा प्रणाली स्तरोन्नतिको काम गर्न दुई दिन सेवा अवरुद्ध गर्न लागिएको हो।

विभागले राहदानी सङ्कलनका लागि मोबाइलमा सूचना सन्देश प्राप्त गरिसकेका सेवाग्राहीलाई उक्त अवधिमा विभागमा सम्पर्क गरी राहदानी लिन आग्रह गरेको छ। नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विभागको भनाइ छ।

२०८३ असार २४, बुधबार ११:५९ प्रकाशित
ट्रेन्डिङ समाचार