काठमाडौं । सरकारले राजस्व प्रशासनका दुई सबैभन्दा संवेदनशील निकायको नेतृत्व नयाँ टोलीलाई सुम्पिएको छ। अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा भीष्मकुमार भुसाल र भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई जिम्मेवारी दिएको हो।
दुवै सहसचिवलाई हालै बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो। अर्थ मन्त्रालयमा पदस्थापन भएको केही घण्टामै सोमबार उनीहरूलाई देशको राजस्व प्रशासनका दुई प्रमुख विभागको नेतृत्व सुम्पिएको हो।
सरकारले यो जिम्मेवारीलाई सामान्य प्रशासनिक हेरफेरका रूपमा नभई राजस्व परिचालन सुदृढ गर्ने, भन्सार प्रणालीमा देखिएका विकृति नियन्त्रण गर्ने तथा प्रशासनिक सुशासनलाई बलियो बनाउने रणनीतिक कदमका रूपमा अघि सारेको स्रोतको दाबी छ।
आन्तरिक राजस्व विभाग र भन्सार विभाग विगत केही वर्षदेखि पटक–पटक विवादको केन्द्रमा पर्दै आएका निकाय हुन्। यी विभागमा नेतृत्व सम्हालेका केही अपवादबाहेक अधिकांश महानिर्देशकहरूमाथि तस्करी, अनियमितता, सेटिङ तथा प्रभावका आधारमा काम गरेको आरोप लाग्ने गरेको थियो। विशेषगरी भन्सार प्रशासनमा हुने अवैध कारोबार, राजस्व चुहावट र संगठित सेटिङका विषयले सरकारमाथि निरन्तर प्रश्न उठ्दै आएका छन्।
उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासोअनुसार नै राजस्व संकलनलाई प्रभावकारी बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने तथा भन्सार क्षेत्रमा हुने तस्करी र सेटिङको चक्र तोड्ने उद्देश्यका साथ भूसालद्वयलाई यी जिम्मेवारी दिइएको हो।
निजामती प्रशासनमा भीष्मकुमार भुसाल र यमलाल भुसाल दुवै तुलनात्मक रूपमा इमान्दार, व्यावसायिक र नतिजामुखी प्रशासकका रूपमा परिचित मानिन्छन्। त्यसैले उनीहरूको नेतृत्वले राजस्व प्रशासनमा सुधार, पारदर्शिता र सुशासनको अपेक्षा बढाएको सरकारी वृत्तको विश्वास छ।
अब दुवै महानिर्देशकका लागि राजस्व संकलन बढाउने मात्र होइन, लामो समयदेखि जरा गाडेर बसेको भनिने सेटिङ संस्कृति, तस्करी नियन्त्रण र प्रशासनिक विश्वसनीयता पुनःस्थापित गर्नु सबैभन्दा ठूलो चुनौती हुनेछ।अर्थ मातहतका निकाय तथा फिल्डमा बसेको अनुभव नभएकाले उनीहरुलाई दुबै निकायमा सुधार गर्न भने धेरै नै मिहिनेत गर्नुपर्ने आवश्यकता देखिएको बताइएको छ ।

