काठमाडौं । नेपालको सीमा र राष्ट्रिय स्वाभिमानबारे महानायक राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा राखेको मर्मस्पर्शी धारणा अहिले देशभर चर्चाको विषय बनेको छ ।
नेपाल–भारत सीमा विवाद, कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र र राज्यको भूमिकाबारे उनले व्यक्त गरेको दृष्टिकोणलाई धेरैले राष्ट्रिय चेतनाले भरिएको, परिपक्व र जिम्मेवार अभिव्यक्तिका रूपमा लिएका छन् ।
फिल्मी पर्दामा मात्र होइन, राष्ट्रिय स्वाभिमानको सवालमा पनि सधैं अग्रपंक्तिमा उभिने नेपाली चलचित्र जगतका महानायक हमालले देशको सीमा, राष्ट्रियता र सार्वभौमसत्ताजस्तो संवेदनशील विषयमा उनले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणालाई राष्ट्रियतामाथि सम्झौता नगर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई कडा सन्देश दिएको अर्थको रुपमा बुझिएको छ ।
हमालले आफ्नो स्टाटसमार्फत “सीमापार अतिक्रमण” र “राज्य–प्रायोजित भू–अतिक्रमण” बीचको स्पष्ट भिन्नता औंल्याएका छन् । खुला सीमाका कारण स्थानीय तहमा देखिने समस्या र राज्यद्वारा योजनाबद्ध रूपमा गरिने भू–नियन्त्रण फरक विषय भएको उनको विश्लेषणलाई कूटनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ ।
विशेषगरी उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई “राज्य–प्रायोजित भू–अतिक्रमण” को उदाहरणका रूपमा उल्लेख गरेपछि उनको अभिव्यक्तिलाई राष्ट्रिय हितसँग जोडेर हेरिएको छ ।
उनले लेखेका छन्, “राज्य–प्रायोजित भू–अतिक्रमण त्यतिबेला हुन्छ, जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ । यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन् ।”
राजनीतिक विश्लेषकहरूका अनुसार हमालको यो अभिव्यक्ति केवल सीमा विवादको व्याख्या मात्र नभई अहिलेको नेतृत्वप्रति संकेतात्मक चेतावनी पनि हो ।
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोल्दै “नेपालले पनि भारतको केही भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएका थिए । उक्त भनाइको देशव्यापी आलोचना भइरहेको बेला हमालको स्टाटसलाई धेरैले त्यसैप्रतिको अप्रत्यक्ष असन्तुष्टिका रूपमा समेत बुझेका छन् ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले “फिल्मी दुनियाँका मात्र होइन, वास्तविक जीवनका पनि महानायक” भन्दै हमालको प्रशंसा गरेका छन् । कतिपयले राष्ट्रियताको सवालमा कलाकारहरू मौन बसिरहेका बेला हमालले साहसिक र जिम्मेवार आवाज उठाएको टिप्पणी गरेका छन् ।
पछिल्ला वर्षहरूमा केही कलाकारहरू राजनीतिक ध्रुवीकरण, उग्र प्रदर्शन र विवादास्पद गतिविधिसँग जोडिँदा उनीहरूको भूमिकामाथि प्रश्न उठिरहेका बेला महानायक हमालको अभिव्यक्तिले भने फरक सन्देश दिएको चर्चा भइरहेको छ ।जहाँ केही कथित् नायकहरू राजनीतिक एजेन्डा बोकेर देशलाई विभाजित गर्ने गतिविधिमा जोडिएको आरोप खेपिरहेका छन्, त्यही बेला महानायक हमालले भने राष्ट्रिय स्वाभिमान र भू–अखण्डताको पक्षमा दृढ आवाज उठाउँदै वास्तविक जीवनका पनि “महानायक” भएको सन्देश दिएका छन् ।
हमालले आफ्नो स्टाटसको अन्त्यतिर वर्तमान विश्व राजनीतिक अवस्थातर्फ संकेत गर्दै नेतृत्वमा परिपक्वता, अनुभव र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
उनको यो अभिव्यक्तिलाई धेरैले “राष्ट्रियतामाथि सम्झौता नगर्न नेतृत्वलाई दिएको सभ्य तर कडा सन्देश” का रूपमा व्याख्या गरेका छन् ।



