काठमाडौं । काठमाडौंको माइतीघरमा बिहीबार नेकपा निकट जनवर्गीय संगठनहरूले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन गरेका छन्। जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा भएको प्रदर्शनमा प्रधानमन्त्रीले राष्ट्रिय अखण्डतासँग सम्बन्धित विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिक रूपमा माफी माग्न माग गरिएको छ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा दिएको भनाइ फिर्ता लिन र संसद्मै स्पष्टिकरण दिनुपर्ने माग गरेका छन्। उनीहरूले उक्त अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।
जनवर्गीय संगठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले पर्याप्त अध्ययन र तथ्यबिना अभिव्यक्ति दिइएको दाबी गर्दै यसले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाएको बताएका छन्। उनले प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिँदै माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने टिप्पणी पनि गरेका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउन, सार्वजनिक रूपमा माफी माग्न र राष्ट्रिय विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन सरकारसँग माग गरेका छन्। साथै, संसद्मा स्पष्टीकरण नआएमा आगामी बैठकहरू अवरुद्ध हुन सक्ने चेतावनी समेत दिएका छन्।


