काठमाडौं ।भ्रष्टाचार, सत्ता दुरुपयोग र माफिया–बिचौलियासँगको साँठगाँठमार्फत अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्व उच्चपदस्थ कर्मचारी, प्रहरी अधिकारी, न्यायाधीश, सेनाका अधिकृत तथा पूर्व मन्त्रीहरू विरुद्ध सम्पत्ति छानबीन आयोगमा सनसनीपूर्ण उजुरीहरू पर्ने क्रम तीव्र बनेको छ । आयोग स्रोतका अनुसार हालसम्म झण्डै ३ सय उजुरी परिसकेका छन् भने दैनिकजसो नयाँ गोप्य सूचनाहरू आइरहेका छन् ।
उजुरीहरूमा पूर्व सचिव, पूर्व एआइजी, डिआइजी, एसएसपी, पूर्व न्यायाधीश, नेपाली सेनाका पूर्व जर्नेल–कर्नेलदेखि प्रभावशाली पूर्व मन्त्रीसम्मले पदमा रहँदा कमाएको भनिएको अकूत सम्पत्ति आफन्त, नातेदार र निकटका साथीभाइको नाममा लुकाएर राखेको आरोप लगाइएको छ ।
आयोगमा पुगिरहेका कतिपय गोप्य विवरणले भने अनुसन्धानलाई थप संवेदनशील बनाएको छ । स्रोतका अनुसार केही व्यक्तिहरू आयोगमै पुगेर मौखिक बयान दिँदै विगतमा ठूला सरकारी ठेक्का, सेटिङ र आर्थिक चलखेल मिलाइदिएवापत केही पूर्व उच्च प्रशासकहरूले “टिप्स” स्वरूप नै ३–४ तले बंगला, महँगा घडेरी तथा विगाका विगा जग्गा प्राप्त गरेको दाबी गरेका छन् ।
आयोगका एक कर्मचारीका अनुसार विशेषगरी भैरहवा, जनकपुर, नेपालगञ्ज लगायतका क्षेत्रमा माफिया र बिचौलियाको काम मिलाइदिएवापत केही प्रभावशाली पूर्व अधिकारीहरूले ठूलो परिमाणमा जग्गा जोडेको भन्ने सूचना लगातार आइरहेको छ । “कसैले कसको नाममा राख्यो, कहाँ किनेको छ, कसरी लुकाइएको छ भन्नेबारे समेत विस्तृत विवरण खुल्न थालेको छ,” ती कर्मचारीले भने ।
यसैगरी भन्सार, कर, राजश्व तथा आर्थिक प्रशासनसँग सम्बन्धित संवेदनशील निकायमा काम गरेका केही पूर्व कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित गुडगाउँ क्षेत्रमा समेत घरजग्गा खरिद गरेको भन्ने सूचना आयोगमा पुगेको स्रोतको दाबी छ । आयोगले यस्ता विवरणहरूको गोप्य रूपमा संकलन गरिरहेको बताइएको छ ।तर आयोगका पदाधिकारीहरुले औपचारिक रुपमा यस्ता विषयहरु बताउन चाहेका छैनन् । उजुरीका प्रकृति हेर्दा उनीहरु पनि चकित पर्ने अवस्था देखिएको आयोगका एक कर्मचारीले बताए ।
आयोगमा पुगेका केही सूचनाले न्याय क्षेत्रतर्फ पनि गम्भीर प्रश्न उठाएका छन् । स्रोतका अनुसार काठमाडौंका केही पूर्व तथा बहालवाला न्यायाधीशहरूको घरमा ठूलो परिमाणमा सुनका डल्ला रहेको भन्ने गोप्य सूचना समेत आयोगसम्म पुगेको छ । यद्यपि यस्ता दाबीहरू हालसम्म औपचारिक रूपमा प्रमाणित भइसकेका छैनन् ।
स्थानीय बासिन्दा, छिमेकी तथा निकट चिनजानका व्यक्तिहरूले समेत आयोगमा गोप्य रूपमा उजुरी दिन थालेपछि अनुसन्धानको दायरा फराकिलो बन्दै गएको छ । कतिपय उजुरीमा राजधानी काठमाडौंमै एकै व्यक्तिको नाममा ३–४ वटा घर, करोडौं मूल्यका घडेरी तथा अस्वाभाविक सम्पत्ति रहेको दावी गरिएको छ ।
उजुरीकर्ताहरूले पूर्व तथा बहालवाला उच्चपदस्थहरूले आफ्नो वास्तविक सम्पत्ति लुकाउन आफन्त, चालक, सहयोगी र निकटका साथीभाइको नाम प्रयोग गरेको आशंका व्यक्त गर्दै त्यसतर्फ पनि गम्भीर अनुसन्धान गर्न माग गरेका छन् ।
सरकारले गत ३१ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै भ्रष्टाचार तथा अन्य गैरकानुनी गतिविधिबाट अकूत सम्पत्ति आर्जन गरेका वर्तमान वा पूर्व राष्ट्रसेवक कर्मचारीविरुद्ध गोप्य उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको थियो । त्यसयता आयोगमा उजुरीहरूको चाप उल्लेख्य रूपमा बढेको स्रोतको भनाइ छ ।
सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठन गरेको सम्पत्ति छानबीन आयोगले लुकाइएका सम्पत्ति, अवैध आर्थिक नेटवर्क र शक्तिको आडमा जोडिएका घरजग्गाको खोजी सुरु गरेको हो । आयोगमा पूर्व न्यायाधीशद्वय चण्डीराज ढकाल र पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् ।
आयोगले कुनै पनि राष्ट्रसेवक कर्मचारीले आफ्नो वैधानिक आयस्रोतभन्दा बाहिर गएर अकूत सम्पत्ति आर्जन गरेको आशंका भएमा जोसुकैले पनि गोप्य उजुरी दिन सक्ने स्पष्ट पारेको छ । आयोग स्रोतका अनुसार “अब ठूला नामहरूमाथि पनि अनुसन्धान अघि बढ्न सक्ने” संकेत देखिन थालेको छ ।


