संघीय निजामती सेवा विधेयक ‘फास्ट ट्र्याक’ मा, अर्थबाट फर्कियो—अब कानुन मन्त्रालयको पालो


  • ७ हजार सुझाव समेटिएको मस्यौदा तीन साताभित्र संसदमा दर्ता गर्ने सरकारी तयारी
  • कानुन मन्त्रालयको रायपछि मन्त्रिपरिषद् हुँदै लोकसेवा आयोग पठाइने
  • संघीय कर्मचारी प्रशासनलाई दीर्घकालीन रूपान्तरण गर्ने दाबी

काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक अब निर्णायक चरणमा प्रवेश गरेको छ । संघीय कर्मचारी प्रशासनको आधारस्तम्भ मानिएको उक्त विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट आवश्यक राय–सुझावसहित फिर्ता आएपछि सरकारले त्यसलाई तीव्र गतिमा अघि बढाउने तयारी गरेको हो ।

भूमि , सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सरोकारवाला, कर्मचारी संगठन, विज्ञ तथा सम्बन्धित निकायबाट प्राप्त करिब ७ हजार सुझावलाई संश्लेषण गर्दै विधेयकको मस्यौदा तयार पारेको थियो । सोही मस्यौदा आवश्यक वित्तीय तथा नीतिगत रायका लागि अर्थ मन्त्रालय पठाइएकोमा अर्थले आफ्नो सुझावसहित पुनः सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हो ।

मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार अब उक्त विधेयक भोलि (शुक्रबार) सम्म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइनेछ । कानुनी परीक्षण र आवश्यक परामर्शपछि विधेयकलाई मन्त्रिपरिषद्बाट स्वीकृत गराई लोकसेवा आयोगमा पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

“कानुन मन्त्रालयबाट पनि चाँडै राय प्राप्त हुने अपेक्षा गरेका छौं । त्यसपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर विधेयकलाई अगाडि बढाइनेछ,” प्रवक्ता अधिकारीले प्रशासनपोष्टसँग भन्नुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाह ले गत चैत १३ गते स्वीकृत गरेको १०० दिने कार्ययोजनाअन्तर्गत संघीय निजामती सेवा विधेयक ४५ दिनभित्र तयार गर्ने लक्ष्य राखिएको थियो । सोही कार्यतालिका अनुसार मन्त्रालयले तीव्र रूपमा गृहकार्य गर्दै आएको छ ।

सरकारले अबको करिब तीन साताभित्रै विधेयक संसदमा पेश गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएको छ । कर्मचारी प्रशासन, पदोन्नति, सरुवा, सेवा–सुविधा, कार्यसम्पादन मूल्यांकन तथा संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापनलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको यो विधेयकलाई संघीय प्रशासन सुधारको ‘गेम चेन्जर’ का रूपमा समेत हेरिएको छ ।

वर्षौंदेखि बहस र विवादमा अल्झिएको संघीय निजामती सेवा ऐन अन्ततः निष्कर्षतर्फ उन्मुख भएको संकेत देखिएसँगै कर्मचारी वृत्तमा समेत चासो र अपेक्षा बढेको छ ।

२०८३ जेष्ठ ७, बिहीबार १४:३४ प्रकाशित
ट्रेन्डिङ समाचार