–हरेक १० मध्ये ७ जना किसान परिवारबाट
–योग्यताको कसीमा किसान परिवार अब्बल
–गाउँबाट उठेका युवाले लोकसेवामा बनाइरहेका छन् नयाँ इतिहास
काठमाडौं ।
नेपालमा अझै पनि मेहनत, इमानदारी र योग्यताको सबैभन्दा ठूलो कदर हुने थलोमध्ये एक मानिन्छ लोकसेवा आयोग। जहाँ ‘स्रोत–फोर्स’, भनसुन र पहुँचभन्दा क्षमता, परिश्रम र प्रतिस्पर्धाले स्थान पाउँछ । यही कारण लोकसेवा परीक्षा किसानका छोराछोरीका लागि आशा, अवसर र सफलताको ढोका बन्दै गएको देखिएको छ ।
लोकसेवा आयोगको पछिल्लो ६६औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारी सेवामा छनोट भएका उम्मेदवारमध्ये ६७.१७ प्रतिशत कृषि पेशामा संलग्न परिवारका छोराछोरी रहेका छन् । प्रतिवेदनअनुसार उक्त वर्ष सरकारी सेवामा प्रवेश गरेका कुल २ हजार ५९२ जनामध्ये १ हजार ७४१ जनाका अभिभावक कृषि पेशामा आबद्ध थिए ।
आयोगका अधिकारीहरूका अनुसार हरेक वर्षजसो लोकसेवामा नाम निकाल्नेमा किसान परिवारका छोराछोरीको नै उल्लेख्य बाहुल्यता रहने गरेको छ । उनीहरूका अनुसार सरकारी सेवा अहिले गाउँघरका मेहनती किसान परिवारका सन्तानले भरिँदै गएको अनुभव गर्न सकिन्छ ।
लोकसेवा परीक्षा स्वच्छ, पारदर्शी र योग्यतामा आधारित भएकाले आर्थिक पहुँच वा राजनीतिक प्रभाव नभएका किसान परिवारका युवायुवती पनि आफ्नै मेहनत र अध्ययनको बलमा सफल हुँदै सरकारी सेवामा प्रवेश गर्न सकेका छन् । यसले लोकसेवा आयोगप्रति आम नागरिकको विश्वास अझ बलियो बनाएको छ ।
प्रतिवेदनअनुसार सरकारी सेवामा छनोट हुने दोस्रो ठूलो समूह भने सरकारी कर्मचारीका छोराछोरी रहेका छन् । आव २०८१/८२ मा छनोट भएका २ हजार ५९२ जनामध्ये ४४१ जना अर्थात् १७.०१ प्रतिशत उम्मेदवार सरकारी सेवामै कार्यरत कर्मचारीका सन्तान रहेका छन् ।
त्यस्तै व्यापार–व्यवसायमा संलग्न परिवारका २३३ जना (८.९९ प्रतिशत), श्रम पेशामा रहेका परिवारका ७७ जना (२.९८ प्रतिशत), शिक्षण पेशामा आबद्ध परिवारका ६० जना (२.३१ प्रतिशत), अन्य व्यवसायमा संलग्न परिवारका २२ जना (०.८५ प्रतिशत) तथा अन्य क्षेत्रका ०.६९ प्रतिशत उम्मेदवार सरकारी सेवामा छनोट भएका छन् ।
लोकसेवामा सफल हुने अधिकांश उम्मेदवारका अभिभावक उच्च शिक्षित नभएको तथ्यांकले पनि ग्रामीण समाजको वास्तविकता झल्काउँछ । प्रतिवेदनअनुसार छनोट भएका उम्मेदवारमध्ये ४१ प्रतिशतका बुबा र ४८ प्रतिशतका आमा प्राथमिक तहसम्म मात्र शिक्षित रहेका छन् । यस आधारमा हेर्दा सामान्य लेखपढ गर्न जान्ने अभिभावकका सन्तानले समेत कठोर प्रतिस्पर्धा पार गर्दै सरकारी सेवामा स्थान बनाइरहेका छन् ।
सरकारी सेवामा किसान परिवारको पहुँच बढे पनि कृषिक्षेत्रका समस्या जस्ताका तस्तै
यद्यपि अर्को विडम्बना के छ भने, सरकारी सेवामा किसानका छोराछोरीको उल्लेख्य उपस्थिति भए पनि किसान स्वयंको जीवन भने अझै समस्यामुक्त हुन सकेको छैन । हरेक वर्ष मल अभाव, उत्पादनको उचित मूल्य नपाउने समस्या, बजारको अस्थिरता तथा कृषि आधुनिकीकरणको सुस्त गतिले किसानहरू निरन्तर पीडित बन्नुपरेको सरोकारवालाहरू बताउँछन् ।
सरोकारवालाहरूका अनुसार किसान परिवारबाटै सरकारी सेवामा पुगेका कर्मचारीहरूले कृषिक्षेत्रको वैज्ञानिककरण, आधुनिकीकरण र किसानमैत्री नीतिमा अपेक्षाअनुसार ध्यान दिन नसक्नु दुःखद पक्ष हो । “किसानका छोराछोरी सिंहदरबार पुगे, तर खेतबारीका समस्या अझै उस्तै छन्,” एक कृषि विज्ञले टिप्पणी गरे ।
लोकसेवाको पछिल्लो तथ्यांकले एउटा स्पष्ट सन्देश दिएको छ—अवसर निष्पक्ष भए गाउँका साधारण किसानका छोराछोरी पनि देशको प्रशासनिक नेतृत्वमा पुग्न सक्छन् । तर अबको चुनौती भनेको उनीहरूले आफ्नै गाउँ, खेतबारी र किसान समुदायको जीवनस्तर परिवर्तनमा कति योगदान दिन सक्छन् भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ ।


