विद्यालयअनुसारको उत्तीर्ण प्रतिशत नतिजाबाट गायब


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो प्रतिशत गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । परीक्षामा सहभागी ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३९२ जनाले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् । त्यस्तै, ८० हजार ३७२ विद्यार्थीले ३.२० देखि ३.६० तथा ९४ हजार २२२ विद्यार्थीले २.८० देखि ३.२० जीपीए प्राप्त गरेका छन् । यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढी ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड रहेका छन् । बोर्डले सामुदायिक र निजी विद्यालयको छुट्टाछुट्टै उत्तीर्ण प्रतिशत भने अझै सार्वजनिक गरेको छैन । उक्त विवरण तयारीको क्रममा रहेकाले पछि सार्वजनिक गरिने बोर्डका अधिकारीहरूले बताएका छन् । यस वर्ष उत्तरपुस्तिका परीक्षण परीक्षा केन्द्रमै गरिएको थियो । नन–ग्रेडेड विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ भने पुनर्योगका लागि जेठ १ देखि ७ गतेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

२०८३ बैशाख २९, मंगलवार १०:५६ प्रकाशित
ट्रेन्डिङ समाचार