काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोसाक र सामग्री प्रयोग गर्न नपाइने भएको छ।
अध्यागमन कार्यालयका अनुसार विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको हो।
नियम सम्पूर्ण यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीका लागि लागू हुने छ। अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा कुनै पनि प्रकारको खादा, माला वा अन्य सजावटी वस्तु (एक्सेसोरिज) प्रयोग गर्न नपाइने भनेको हो।
यस्ता वस्तुले सम्भावित सुरक्षा जोखिम बढाउने र अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

२०८२ असार २६, बिहीबार १७:०४ प्रकाशित


