
काठमाडौँ। सिरहाको चैनपुरस्थित महावीर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक टिक बहादुर मगरविरुद्ध नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मगरले माध्यमिक तहको अध्यापन अनुमति पत्र नभएको अवस्थामा, निम्न माध्यमिक तहको प्रमाणपत्रलाई माध्यमिक तहको जस्तै देखाई नियुक्ति लिएका थिए। यसरी झुटा कागजात प्रयोग गरी उनले लामो समयदेखि शिक्षकको रुपमा सेवा दिँदै आएको पाइएको हो।
आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ। मुद्दासँगै कैद सजाय र जरिवाना माग गरिएको छ।
२०८२ बैशाख १७, बुधबार १२:११ प्रकाशित