सरकार र शिक्षक महासंघबीचको वार्ता बिना निष्कर्ष टुंगियो


काठमाडौँ। शिक्षकहरूको आन्दोलनलाई समाधान गर्ने उद्देश्यले सरकार र नेपाल शिक्षक महासंघबीच आज भएको वार्ता कुनै ठोस निष्कर्षबिना टुंगिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा मन्त्री रघुजी पन्तको उपस्थिति रहेको थियो।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार, सरकारसँगको आजको छलफल औपचारिक मात्र भएको हो। ‘हामी संवादमा छौं, तर अझै समाधान टाढा छ,’ तिवारीले भने।

शिक्षकहरू संसदमा विद्यालय शिक्षा विधेयक प्रवेश, ग्रेड वृद्धि तथा मर्यादाक्रमको विषयमा मन्त्रिपरिषद् स्तरबाट निर्णय होस् भन्ने मागमा अडिग छन्। ती मागहरूमा ठोस पहल नभएसम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।

हाल आन्दोलनरत शिक्षक महासंघले मन्त्रालय समक्ष आफ्ना माग राखेको छ, तर मन्त्रालयले स्पष्ट धारणा दिन बाँकी छ। यद्यपि, दुबै पक्ष वार्तालाई निरन्तरता दिने सहमतिमा पुगेका छन्।

गत चैत २० देखि शिक्षकहरू काठमाडौंमा विद्यालय शिक्षा ऐनका लागि आन्दोलनरत छन्।

२०८२ बैशाख १३, शनिबार १५:१८ प्रकाशित
ट्रेन्डिङ समाचार