काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद्मा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षणसम्बन्धी पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सचिवालयमा प्राप्त भएको हो।
यसअघि सभामुख डोलप्रसाद अर्यालले स्वास्थ्य परीक्षणको रिपोर्टबिना सांसदहरूलाई कालो चस्मा लगाउन नदिने बताएका थिए। प्रधानमन्त्री शाहले २२ साउनमा छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए। अस्पतालको रिपोर्टअनुसार उज्यालो प्रकाशमा खाली आँखाले हेर्दा समस्या हुने देखिएपछि कालो चस्मा लगाउनुपर्ने उल्लेख गरिएको छ।
बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न गर्नेछन्। प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो घण्टामा सञ्चालन गर्ने व्यवस्था छ।
सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री संसद् भवनमा उपस्थित हुँदा स्वास्थ्य परीक्षणको रिपोर्टअनुसार कालो चस्मा लगाउने भएका हुन्।


