काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
मंगलबार बसेको बैठकले फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीसँगको भेटमा सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद आशिका तामाङबाट फोरमका पदाधिकारी तथा सदस्यमाथि भएको व्यवहारप्रति समेत आपत्ति जनाइने उल्लेख छ।
उपत्यकाको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा समाधान गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको भन्दै फोरमले स्थानीय सरकार यस विषयमा प्रतिबद्ध रहेको जनाएको छ।


