संसद्का दुवै सदन आज बस्दै


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। साथै, ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव तथा समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गर्ने कार्यक्रम छ।

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। दुवै सदनका बैठकबाट विभिन्न कानुन निर्माण प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

२०८३ भाद्र ९, मंगलवार ०८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार