सडक बिग्रिएपछि नारायणगढ–बुटवल सडक पुनः मर्मत


काठमाडौं । सरकारलाई हस्तान्तरण गर्नुअघि नै नारायणगढ–बुटवल सडकका विभिन्न स्थानमा सडक दबिने तथा उठ्ने समस्या देखिएपछि निर्माण कम्पनीले पुनः मर्मत सुरु गरेको छ।

चोरमारा, अरुणखोलालगायतका क्षेत्रमा सडकमा दुई–तीन इन्चसम्म दबिएको तथा उठेको भाग देखिएपछि चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले मर्मत थालेको हो। सडकको अवस्थाका कारण विशेषगरी दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।

ठेकेदार कम्पनीका इन्जिनियर ओपेन्द्र मुखियाका अनुसार चोरमारा क्षेत्रमा मात्रै करिब नौ सय मिटर सडकमा समस्या देखिएको छ। बिग्रिएको भागको माथिल्लो तहको पिच निकालेर मर्मत भइरहेको र समस्या समाधान नभए थप पिच निकालेर मर्मत गरिने उहाँले बताउनुभयो।

सडकका उकालो तथा ओरालो खण्डमा बढी समस्या देखिएको छ। निर्माण कम्पनीले बढी भार बोकेका सवारीसाधन र सडकको भूबनोटका कारण सडक बिग्रिएको हुन सक्ने जनाएको छ। अन्य स्थानको मर्मत सकिएको र चोरमारा खण्डको काम दुई–तीन दिनभित्र पूरा हुने कम्पनीले जनाएको छ।

करिब ११४ किलोमिटर लामो नारायणगढ–बुटवल सडकमा बजार क्षेत्रमा छ लेन, जंगल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण गरिएको छ। करिब १७ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सडकको मर्मतसम्भार पाँच वर्षसम्म निर्माण कम्पनीले नै गर्नुपर्ने सम्झौता छ।

२०८३ भाद्र ६, शनिबार ११:१६ प्रकाशित
ट्रेन्डिङ समाचार