काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कोशी र नारायणी बेसिनका प्रमुख नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार कोशी बेसिनका तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशी तथा नारायणी बेसिनका नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा बहाव बढ्नेछ।
शनिबार देशका विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। विशेषगरी पूर्वी तथा मध्य पहाडी जिल्लाका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेशका केही साना नदीमा समेत बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२०८३ भाद्र ६, शनिबार १०:१३ प्रकाशित


