उच्च अदालतको आदेश : पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु


काठमाडौं । उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक तथा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश अच्युत कुइकेलको इजलासले प्रकाशित समाचारसम्बन्धी विषय प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने भन्दै श्रेष्ठलाई धरपकड, पक्राउ वा थुनामा नराख्न आदेश दिएको हो।

अदालतले प्रेस काउन्सिलमा उजुरी विचाराधीन रहेको, संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक तथा सर्वोच्च अदालतको हालैको आदेशलाई आधार बनाएको छ।

उपसभामुख रुवी कुमारीले जनआस्थामा प्रकाशित समाचारले आफ्नो गोपनीयताको हक हनन भएको दाबी गर्दै प्रेस काउन्सिलमा उजुरीसँगै प्रहरीमा जाहेरी दिएकी थिइन्। पक्राउ पुर्जीका लागि प्रहरीले जिल्ला अदालत ललितपुरमा प्रक्रिया अघि बढाएपछि श्रेष्ठ निषेधाज्ञाको माग गर्दै उच्च अदालत पुगेका थिए। जिल्ला अदालतले भने प्रक्रिया नपुगेको भन्दै पक्राउ पुर्जी दिन अस्वीकार गरेको थियो।

२०८३ भाद्र ४, बिहीबार ११:५० प्रकाशित
ट्रेन्डिङ समाचार