बागमतीमा एक मन्त्रालयमा तीन सचिव


मकवानपुर । बागमती प्रदेश सरकारले ८ मन्त्रालय कायम गरे पनि संघीय सरकारबाट खटिएका सचिवहरूको व्यवस्थापन हुन नसक्दा एउटै मन्त्रालयमा तीन जनासम्म सचिवको जिम्मेवारी तोकेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ८ मन्त्रालय र मातहतका कार्यालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएण्डएम) स्वीकृत गरेको हो । नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेकका ७ विषयगत मन्त्रालयमा एक–एक सचिवको दरबन्दी रहने भए पनि तत्कालका लागि केही मन्त्रालयमा बढी सचिवलाई क्षेत्रगत जिम्मेवारी दिइएको छ ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य, अनिता निरौलालाई श्रम तथा यातायात र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी दिइएको छ । त्यस्तै, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा गीता कुमारी होमेगाईंलाई युवा तथा खेलकुद, डा. सुमित्रा गौतमलाई स्वास्थ्य र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी तोकिएको छ ।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयमा डा. केदार बराललाई वन तथा वातावरण र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपन्छी क्षेत्रको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले कार्यबोझ र मन्त्रालयको प्रकृतिका आधारमा तत्कालका लागि सचिवहरूलाई क्षेत्रगत जिम्मेवारी दिइएको बताए । संघीय सरकारले अतिरिक्त सचिवहरूको व्यवस्थापन गरेपछि एक मन्त्रालयमा एकजना सचिव मात्र रहने उनको भनाइ छ ।

कामु प्रमुख सचिव कमलप्रसाद भट्टराईले ओएण्डएमको सैद्धान्तिक काम पूरा भएको र प्राविधिक रूपमा दरबन्दी मिलानको काम भइरहेको बताए । मन्त्रालय संख्या १४ बाट घटाएर ८ कायम गरिएपछि सचिवहरू बढी देखिएको भन्दै उनले संघीय मामिला मन्त्रालयसँग व्यवस्थापनका लागि पत्राचार गरिएको जानकारी दिए ।

उनका अनुसार सचिवहरूलाई जिम्मेवारीविहीन राख्नुभन्दा सम्बन्धित क्षेत्रको जिम्मेवारी दिएर काममा लगाउने उद्देश्यले हालको अस्थायी व्यवस्था गरिएको हो ।

२०८३ श्रावण ३०, शनिबार १२:३३ प्रकाशित
ट्रेन्डिङ समाचार