कप्तानगञ्ज घटनाको विरोध फैलियो, विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा,कोशी विवादको असर मधेसमा
काठमाडौं । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोध देशका विभिन्न जिल्लामा फैलिएको छ। मोरङ, सिरहा, धनुषा, पर्सा, सप्तरीलगायत क्षेत्रमा प्रदर्शन भएपछि सिरहाको गोलबजार र जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु तथा वीरगन्जका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको छ।
कप्तानगञ्ज घटनामा घाइते २१ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा निधन भएसँगै सुनसरीमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। घटनामा घाइते अन्य सात जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतकलाई शहीद घोषणा, पीडितलाई राहत, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन जारी छ। देवानगञ्ज गाउँपालिकाले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ भने घटनाको छानबिनका लागि गृह मन्त्रालयको समिति अनुसन्धानमा जुटेको छ।