सिन्धुपाल्चोक । आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरिएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसेस्थित ५१ शय्याको किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयको संयुक्त अनुगमन टोलीले सिलबन्दी गरेको छ।
जनस्वास्थ्य कार्यालयका अनुसार अस्पतालले जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ बमोजिम आवश्यक अनुमति र नवीकरण नगरी सेवा सञ्चालन गरेकाले पटक–पटक निर्देशन दिँदासमेत प्रक्रिया पूरा नभएपछि सिलबन्दी गरिएको हो।
अस्पताल बन्द भएपछि बाह्रबिसे तथा आसपासका सर्वसाधारण, विशेषगरी बिरामी, सुत्केरी, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरू उपचार सेवाबाट प्रभावित भएका छन्। अस्पताल व्यवस्थापनले भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायसँग समन्वय गर्दै अस्पताल पुनः सञ्चालनको तयारी भइरहेको जनाएको छ। स्थानीयवासीले पनि कानुनी प्रक्रिया पूरा गरी अस्पताल छिट्टै सञ्चालनमा ल्याउन माग गरेका छन्।


