भिजिट भिसाको आवरणमा २७ महिला ओमान हुँदै कुवेत पठाउने प्रयास विफल

एयरपोर्टबाट नियन्त्रणमा परेका महिलामार्फत दलाल र मानव तस्करी गिरोहको खोजी तीव्र


  • अध्यागमनको निगरानीमा पर्दा खुल्यो शंकास्पद रुट, खाडी पुर्‍याउने नेटवर्कमाथि अनुसन्धान

काठमाडौं । भिजिट भिसाको आवरणमा नेपाली महिलालाई खाडी मुलुकतर्फ लैजाने अर्को प्रयास त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ। ओमानको राजधानी मस्कट हुँदै कुवेत पुर्‍याउने योजनामा रहेका २७ जना महिलालाई अध्यागमन विभाग र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएपछि यस प्रकरणसँग जोडिएको दलाल तथा संगठित गिरोहको खोजी तीव्र पारिएको छ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी ले भिजिट भिसाको नाममा सोझासाझा महिलालाई झुक्याएर विदेश पुर्‍याउने नेटवर्क अझै सक्रिय रहेको संकेत यो घटनाले दिएको बताए। उनका अनुसार नियन्त्रणमा लिइएका महिलासँग गरिएको सोधपुछका आधारमा उनीहरूलाई विदेश पठाउने एजेन्ट, दलाल र सम्भावित गिरोह पहिचान गर्ने काम अघि बढाइएको छ।

बुधबार राति फ्लाई दुबईका फरक–फरक उडानमार्फत ओमानको राजधानी मस्कट जान लागेका १२ र १५ गरी २७ महिलालाई विमानस्थलमै रोकेर अनुसन्धान सुरु गरिएको थियो। उनीहरूको उमेर २२ देखि २९ वर्षबीच रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जाँचका क्रममा उनीहरूसँग ओमानको भिसा, हवाई टिकट र होटल बुकिङका कागजात भेटिए पनि सोही पासपोर्टमा कुवेतको भिसासमेत फेला परेपछि अध्यागमन अधिकारीहरू सशंकित बनेका थिए। त्यसपछि निगरानी बढाइएपछि घटनाको वास्तविकता बाहिर आएको हो।

अनुसन्धानबाट उनीहरूको यात्रा मार्ग मस्कट हुँदै कुवेत पुग्ने गरी तय गरिएको देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपाली महिलामाथि प्रतिबन्ध रहेको कुवेतमा उनीहरूलाई अवैध रूपमा पुर्‍याउने तयारी भइरहेको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले निकालेको छ।

सुरक्षा निकायका अनुसार खाडी मुलुकमा सक्रिय एजेन्टहरूले ओमानलाई ‘ट्रान्जिट हब’ का रूपमा प्रयोग गर्दै नेपाली महिलालाई कुवेत प्रवेश गराउने गरेका छन्। त्यहाँ पुगेपछि घरेलु कामदारका रूपमा काम लगाउने बहानामा महिलालाई विभिन्न घरमा पठाइने र अनेक प्रकारका शोषण तथा हिंसाको जोखिममा पारिने गरेको विगतका घटनाले देखाएको छ।

विशेषगरी घरेलु श्रममा संलग्न बनाइएका महिलामाथि शारीरिक यातना, श्रम शोषण, तलब नदिने तथा यौनजन्य हिंसासम्मका गम्भीर घटना बारम्बार सार्वजनिक हुँदै आएका छन्। त्यसका बाबजुद भिजिट भिसाको दुरुपयोग गरी महिलालाई खाडी मुलुक पुर्‍याउने गिरोह भने अझै सक्रिय रहेको देखिएको छ।

प्रहरीले नियन्त्रणमा परेका महिलाको बयानका आधारमा उनीहरूलाई विदेश पठाउने व्यक्ति, ट्राभल एजेन्सी, एजेन्ट तथा सम्भावित मानव तस्करी सञ्जालको खोजी सुरु गरेको जनाएको छ। यो प्रकरणले भिजिट भिसाको नाममा भइरहेको अवैध मानव ओसारपसार पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको तथ्य फेरि उजागर गरेको छ।

२०८३ असार ४, बिहीबार १६:११ प्रकाशित
ट्रेन्डिङ समाचार