ईभी आयात प्रकरणमा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको कम्पनीमाथि प्रश्न
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको लगानी रहेको गाडी विक्रेता कम्पनीमाथि विद्युतीय सवारी (ईभी) आयात प्रकरणमा प्रश्न उठेको छ। बजेटअघि भन्सार प्रक्रियामा अनियमितता गरी चीनबाट ईभी भित्र्याइएको विषयमा गठित सरकारी छानबिन समितिले काइयी ब्रान्डका केही गाडी आयातमा कैफियत फेला पारेको स्रोतले जनाएको छ।
रसुवामा श्रेष्ठको कम्पनीले आयात गरेको काइयी ब्राण्डका सवारीसाधन सम्बन्धमा प्रक्रिया र नियतमाथि प्रश्न उठेको छ। प्राप्त विवरणअनुसार कम्पनीले गाडी नेपाल भित्रिनुअघि नै असार १४ गते प्रज्ञापनपत्र (भन्सार घोषणा) पास गराएको देखिएको छ। तर ती गाडी असार १६ गते मात्र नेपाल भित्रिएको तथ्य खुलेपछि सम्बन्धित प्रक्रियाको वैधानिकता र पारदर्शितामाथि चासो बढेको हो।
सामान भौतिक रूपमा भित्रिनुअघि नै प्रज्ञापनपत्र पास गरिएको विषयले भन्सार प्रशासन र आयात प्रक्रियाको पालनाबारे प्रश्न खडा गरेको छ। यस घटनाबारे सम्बन्धित निकायले छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ।
छानबिनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष श्रेष्ठको लगानी रहेको कम्पनीले रसुवागढी नाकाबाट ल्याएका ४० भन्दा बढी काइयी गाडीमा कागजी प्रक्रिया र वास्तविक आयात मितिबीच फरक देखिएको बताइएको छ। यस प्रकरणमा रसुवागढी भन्सार कार्यालयका प्रमुखसहित नौ कर्मचारीमाथि स्पष्टीकरण मागेर अनुसन्धान अघि बढाइएको छ।
बजेटअघि राजस्व दरसम्बन्धी सूचना चुहावट र भन्सार ‘सेटिङ’ को आशंकामा ८ सयभन्दा बढी ईभी अनुसन्धानको दायरामा परेका छन्। सम्बन्धित निकायले प्रतिवेदन बुझाइसकेको र थप कारबाही प्रक्रिया अगाडि बढिरहेको जनाइएको छ।