लोकसेवा परीक्षा तयारी/टिप्स (वस्तुगत प्रश्नोत्तर )


फौजदारी र देवानी मुद्दामा फरक छुट्याउदै मुलुकी अपराध संहिता, २०७४ र मुलुकी देवानी संहिता, २०७४ का विशेषताहरु उल्लेखहरु गर्नुहोस् ।

  • साविकको मुलुकी ऐनलाई विस्थापित गरी जारी गरिएका देवानी तथा फौजदारी संहिताले अन्तराष्ट्रिय अभ्यास र सामाजिक अभ्यासलाई सम्बोधन गरेको अवस्था रहेको छ ।
  • कानूनको समयानुकूल परिमार्जन, एकीकरण र आधुनिकीकरण गर्न यी संहिताहरु जारी गरिएको हो ।

फौजदारी र देवानी मुद्दा विचको फरक

  • देवानी मुद्दा व्यक्तिको पद, लेनदेन, करार, सम्पत्ति जस्ता व्यवहारसँग सम्बन्धित छ भने फौजदारी मुद्दा समाजको शान्ति सुरक्षा अमनचयनसँग सम्बन्धित छ ।
  • देवानी कानूनको मुख्य उद्देश्य हक अधिकारको प्रचलन गराउनु हो भने फौजदारी कानूनको मुख्य उद्देश्य अपराधीलाई सजाय गरी अपराध हुनबाट रोक्नु हो
  • देवानी मुद्दामा सामान्यतया हक अधिकार हनन भएको पीडित पक्षले मुद्दा दायर गर्छ भने अधिकांश फौजदारी मुद्दा सरकारवादी हुन्छन् ।
  • सामान्यतया देवानी मुद्दामा कैद सजाय नभई क्षतिपुर्ति प्रश्न मुख्य हुन्छ भने फौजदारी मुद्दामा कैद सजाय हुन्छ ।
  • देवानी मुद्दामा नैतिक पतन हुँदैन भने खास प्रकृतिका गम्भीर प्रकृतिका फौजदारी मुद्दामा नैतिक पतन हुन्छ ।
  • देवानी मुद्दामा प्रतिवादीले प्रतिउत्तर गर्न पाउँछ भने फौजदारी मुदामा प्रतिवादीलाई वयान गराइन्छ ।
  • देवानी मुद्दामा पुर्पक्ष गर्न थुनामा राखिदैन भने फौजदारी मुद्दामा पुर्पक्ष गर्दा थुनामा राखिन्छ
  • देवानी मुद्दामा फिराद दर्ता शुल्क लाग्छ भने फौजदारी मुद्दामा जाहेरी दर्ता गर्दा शुल्क लाग्दैन्

मुलुकी अपराध संहिता, २०७४ का विशेषताहरु

  • कसूरको गम्भीरता बढाउने र घटाउने अवस्थाहरु निर्धारण गरिएको
  • सामुदायिक सेवादेखि आजीवन कैदसम्मको सजायको व्यवस्था भएको
  • जन्मकैदको गणना गर्दा २५ वर्ष गणना गरिने
  • अपराध पीडितले मुद्धाको कामकारबाहीको जानकारी पाउने
  • क्षतिपूर्ति तथा सामाजिक पुर्नस्थापना सहितको न्याय पाइने कुराको सुनिश्चितता गरिएको
  • सजायमा छुट दिन सकिने व्यवस्था गरिएको
  • नविनतम प्रकृतिका अपराधहरुलाई कसुर कायम गरिएको
  • षडयन्त्र, उद्योग, दुरुत्साहन गर्ने तथा मतियारलाई सजाय तोकिएको
  • बालबालिकाबाट कसूर गराएमा उमेर पुगेकालाई सजाय हुने प्रावधान राखिएको
  • मन्जुरीबिनाको विवाह, हाडनाता विवाह, बालविवाह, बहुविवाह बदर हुने

मुलुकी देवानी संहिता २०७४ का विशेषताहरु

  • हालसम्मकै लामो ऐनको रुपमा रहेको (६ भाग, ५२ परिच्छेद र ७२१ वटा दफा)
  • नागरिक अधिकारको उल्लंघनमा जिल्ला अदालतबाटै उपचार पाइने
  • असल छिमेकीपन कायम गर्नुपर्ने व्यवस्था राखिएको
  • आफ्नो दाहसंस्कारको विधि आफैँले निर्माण गर्न सकिने
  • मृत्युपछि आफ्नो शव, शरीरको अंग दान गर्न सकिने
  • झुठा उजुरी दिएमा क्षतिपूर्ति दिनुपर्ने
  • विवाह र विवाहपछिको थरको सम्बन्धमा नविनतम व्यवस्थाहरु राखिएको
  • सम्पत्ति कानूनमा नयाँ आयाम
  • करार ऐनका विषयवस्तुहरुलाई देवानी संहितामा उल्लेख गरिएको
  • मृत्यु भएको अनुमान र मृत्यको न्यायिक घोषणा सम्बन्धि व्यवस्था राखिएको
  • अंशसम्बन्धि नविनतम प्रावधान राखिएको
  • घरबहालमा दिदा सम्झौता गर्नुपर्ने व्यवस्था रहेको

 निष्कर्ष

समाजलाई व्यवस्थित ढंगले सञ्चालन गर्न देवानी र फौजदारी दुवै कानुनको उत्तिकै आवश्यकता छ । हाल कार्यान्वयनमा रहेका अपराध तथा देवानी संहिता दुवैले सामाजिक आवश्यकता र भावनाको प्रतिनिधित्व गरेको देखिन्छ। कार्यान्वयनको प्रारम्भिक चरणमा रहेकोले यसमा रहेका कमजोरीहरु सुधार गर्दै समाजलाई व्यवस्थित ढंगले सञ्चालन गर्न जरुरी रहेको छ ।

२०८३ बैशाख २७, आईतवार १२:१५ प्रकाशित
ट्रेन्डिङ समाचार