काठमाडौँ । काठमाडौँमा प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका बजेट शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ। सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनेछन्।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, गृह, ऊर्जा, परराष्ट्र, अर्थ, रक्षा लगायतका मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विषयमा पनि स्पष्टीकरण दिइनेछ।
सभामुखले विभिन्न मन्त्रालयका शीर्षकहरूमा दर्ता भएका २० जना सांसदका खर्च कटौती प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। अन्त्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

