बाढी-पहिरोले देशका ८ ठाउँमा सडक पूर्ण अवरुद्ध


काठमाडौं । मनसुन सक्रिय भएसँगै बाढी र पहिरोका कारण देशका मुख्य राजमाार्ग तथा विभिन्न स्थानमा सडक अवरुद्ध भइरहेको छ । पहिरोका कारण आज (आइतबार) मात्रै ६ वटा मुख्य राजमार्ग तथा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार मेची, कोशी, अरनिको राजमार्ग लगायत देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन् ।

आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा बिहानै पहिरोले सडक अवरुद्ध भएको छ ।

यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा पूर्ण रूपमा अवरुद्ध बनेको छ । खोलाको बहाव घटेपछि मेशिन प्रयोग गरेर डाइभर्सन मर्मत गरिने प्रहरीको तयारी छ ।

भेडेटार–रवि–राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ । तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएको र ब्याकहोइ मेशिन परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

त्यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यहाँ पनि एक्स्काभेटर प्रयोग गरी बाटो खुलाउने काम भइरहेको छ ।

साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा पानी परिरहेको र लेदोसहितको माटो आएकाले पानी रोकिएपछि लेदो पन्छाइने तयारी छ ।

असार २९ गते कोशी राजमार्गको तुम्लिङ्टार–खाँदबारी–नुम–किमाथांका सडकअन्तर्गत सङ्खुवासभाको वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण ढलानको कार्य बाँकी रहेको जनाउँदै पानीको बहाव बढेको कारण डाइभर्सन पुनस्र्थापना गर्न नसकिएको जनाएको छ । पानीको सतह घटेलगत्तै डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई जोड दिइने छ ।

असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक अवरुद्ध भएको छ । यो सडक खुलाउने प्रयास भइरहेको समेत विभागले जनाएको छ ।

बाढी पहिरोले सठक अवरुद्ध हुँदा विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ । अवरुद्ध सडक खुलाउन उपकरण परिचालन गरे पनि निरन्तरको वर्षा र खोलाको बढ्दो बहावले काममा कठिनाइ भइरहेको विभागले जनाएको छ ।

२०८२ श्रावण ४, आईतवार १२:४३ प्रकाशित
ट्रेन्डिङ समाचार