काठमाडौं । भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेरि निजामती सेवा नियमावलीको व्यवस्थाविपरीत ११२ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयको सोमबारको निर्णयअनुसार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृतलगायत ११२ जना कर्मचारीको सरुवा गरिएको हो।
तर यो निर्णयले फेरि निजामती सेवा नियमावलीको कार्यान्वयनमाथि प्रश्न उठाएको छ। नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले अन्तरमन्त्रालय तथा व्यापक कर्मचारी सरुवा प्रत्येक वर्ष भदौ महिनामा गर्ने व्यवस्था छ। त्यसबाहेक विशेष र अपरिहार्य अवस्थाबाहेक नियमित सरुवा नगर्ने कानुनी मर्म रहे पनि मन्त्रालयले पछिल्ला दिनमा पटक–पटक ठूलो संख्यामा कर्मचारी सरुवा गर्दै आएको छ।
सरकारी कर्मचारी प्रशासनलाई निश्चित मापदण्ड, पूर्वानुमानयोग्य प्रणाली र पारदर्शी प्रक्रियामा सञ्चालन गर्ने उद्देश्यले नियमावलीमा सरुवाको निश्चित समय तोकिएको भए पनि व्यवहारमा भने त्यसको निरन्तर उल्लंघन भइरहेको छ।
पछिल्ला केही सातायता सामान्य प्रशासन मन्त्रालयले विभिन्न चरणमा ठूलो संख्यामा कर्मचारीको सरुवा गर्दै आएको छ। यसले सरुवा प्रक्रिया कानुन र मापदण्डका आधारमा नभई प्रशासनिक विवेक वा अन्य प्रभावका आधारमा सञ्चालन भइरहेको हो कि भन्ने प्रश्नसमेत उठ्न थालेको छ।













