बिमा प्राधिकरणका दुई पूर्वअध्यक्ष  मदन दाहाल र शरद ओझा सहित ४३ जनाविरुद्ध बीमा कसुर मुद्दा   

नियामक शक्तिको दुरुपयोग गरेको आरोप


काठमाडौं । नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्षद्वय मदन दाहालशरद ओझा विरुद्ध बीमा कसुरसम्बन्धी मुद्दा दायर भएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार दाहाल र ओझासहित ४३ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो। मुद्दामा नियामकीय अधिकारको दुरुपयोग गर्दै गैरकानुनी निर्णय तथा कार्य गरेको आरोप लगाइएको छ।

अभियोगपत्रअनुसार उनीहरूले बिमासम्बन्धी कानुन र नियामकीय मापदण्ड विपरीत कार्य गरी हानी–नोक्सानी पुर्‍याएको दाबी गरिएको छ। अनुसन्धानबाट नियामक निकायभित्रकै निर्णय प्रक्रियामा गम्भीर अनियमितता देखिएको भन्दै मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ।

मुद्दामा तानिएका दाहाल हाल सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला  मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्। ओझालाई भने केही महिनाअघि सरकारले कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै स्पष्टीकरण सोधेर पदबाट हटाएको थियो। ओझा पूर्व आर्थिक पत्रकार समेत हुन् । दाहाल यस अघि आन्तरिक राजश्व विभागका महानिर्देशक समेत थिए । महानिर्देशक हुँदा उनले तत्कालीन अर्थ मन्त्री रामेश्वर खनालको निर्देशनमा डोल्मा फण्डलाई ८८ करोड भन्दा बढि राजश्व छुट दिएका थिए तर पछि सर्वोच्चले सो छुटमा रोक लगाएको थियो ।

बिमा क्षेत्रको सर्वोच्च नियामक निकायकै नेतृत्व तहविरुद्ध मुद्दा दायर भएपछि बिमा प्रशासनभित्र तरंग सिर्जना भएको छ। नियामक संस्थाको निष्पक्षता, पारदर्शिता र निर्णय प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ।

२०८३ जेष्ठ २८, बिहीबार २१:४९ प्रकाशित
ट्रेन्डिङ समाचार