विश्वकप हेर्न सार्वजनिक स्क्रिनिङ गर्न काठमाडौं प्रशासनको अनुमति अनिवार्य

भीडभाड, सुरक्षा र रात्रीकालीन गतिविधिलाई मध्यनजर गर्दै काठमाडौं प्रशासनको कडाइ


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले फिफा विश्वकप फुटबल २०२६ का खेल सार्वजनिक स्थलमा ठूलो पर्दामार्फत प्रत्यक्ष प्रसारण गर्न चाहने संघसंस्था, क्लब तथा कम्पनीलाई अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ।

कार्यालयले  बिहीबार जारी  गरेको सूचनामा विश्वकपका खेल सामूहिक रूपमा प्रदर्शन गर्दा अत्यधिक भीडभाड हुन सक्ने, जसले शान्ति सुरक्षा, सार्वजनिक व्यवस्थापन तथा रात्रीकालीन गतिविधिमा असर पार्न सक्ने उल्लेख गर्दै अनुमति लिएर मात्रै कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो।

काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल द्धारा जारी विज्ञप्तिका अनुसार  होटल, रेस्टुरेन्ट, क्लब, खुला चौर वा अन्य सार्वजनिक स्थानमा ठूलो स्क्रिन राखेर खेल देखाउन चाहने आयोजकले पूर्वस्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। आवश्यक निवेदनको ढाँचा कार्यालयको वेबसाइटमार्फत उपलब्ध गराइएको पनि सूचनामा जनाइएको छ।

कार्यालयले कार्यक्रम सञ्चालन हुने स्थान, सम्भावित भीड, सुरक्षा संवेदनशीलता तथा व्यवस्थापनको अवस्थालाई मूल्याङ्कन गरी मात्रै अनुमति प्रदान गरिने स्पष्ट पारेको छ।

विशेषगरी रातिको समयमा हुने विश्वकप खेललाई लक्षित गर्दै प्रशासनले अनुमति नलिई भीडभाड गर्ने, अमर्यादित गतिविधि सञ्चालन गर्ने वा सार्वजनिक शान्ति भंग हुने गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

विश्वकप फुटबलका खेलहरू हेर्न पछिल्ला वर्षहरूमा काठमाडौंका विभिन्न होटल, रेस्टुरेन्ट तथा क्लबहरूमा सामूहिक स्क्रिनिङको चलन बढ्दै गएको छ। त्यसलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनले यसपटक पूर्वस्वीकृतिको व्यवस्था कडाइका साथ लागू गर्न खोजेको देखिन्छ।

२०८३ जेष्ठ २८, बिहीबार १९:२७ प्रकाशित
ट्रेन्डिङ समाचार