परिभाषाः सदाचार भन्नाले सोचाई, बोलाई र गराइमा संगति हुनुलाई बुझिन्छ । आदर्श, विश्वास, मापदण्ड र ब्यवहारको एकिकरण नै सदाचारिता हो । बाह्य प्रभाव वा दवावबाट विचलित नभइकन इमान्दारिताका मूल्यहरुमा अडिग रहनु नै सच्चरित्रता हो । सत्यलाई स्वीकार गर्ने, सत्यलाई सामना गर्ने र सत्यका निम्ति जस्तो सुकै दुख बेहोर्न सक्ने हिम्मत नै सदाचारिता हो । सदाचार यस्तो गुण हो जुन जस्तोसुकै प्रभाव र दवावबाट पनि भाचिदैन ।
कसैले नहेरेको वा नदेखेको अवस्थामा पनि आफ्नै अन्तस्करणबाट आफू को हुँ र आफ्नो गन्तव्य के हो ? भन्ने कुरामा अविचलित रहने चरित्र नै सच्चरित्रता हो । चरित्रको पूर्णता, विस्तृता र ब्यापकता नै सदाचारिता हो । यो सम्झौता वा छनौटमा आधारित हुदैन । यो अविच्छिन्न, नित्य र सम्झौताहिन प्रकृतिको हुन्छ । यो परिस्थिती सापेक्ष हुदैन । सवै परिस्थितीमा पनि ब्यक्तिले प्रदर्शन गर्ने सोचाई, बोलाई र गराइको एकिकृत मूल्य प्रणाली हो । बिजय वा पराजय, प्राप्ति वा अप्राप्ति जे सुकै भएपनि नैतिक मार्गदर्शनमा अविचलित हिडिरहने प्रतिज्ञा नै सदाचारिता हो ।
सदाचारिताको प्रकारः असल वा खरावका सन्दर्भमा आफ्नो वा अरुका ब्यवहारको मूल्याङ्कन गर्दा अपनाइने मापदण्डहरुको संगतिलाई “वैयक्तिक सदाचारिता” भनिन्छ । जीवन भनेको सत्यको निरन्तर खोजि हो । यो केवल सत्यको प्राप्तिसंग मात्र सम्बन्धित छैन ।
सत्यका सम्बन्धमा गरिने चिन्तनको एकरुपता नै “बौद्धिक सदाचारिता” हो । पृथ्वीलाई सुर्यले परिक्रमा गर्छ भन्ने कथन कुनै बेला सत्य मानिन्थ्यो । तर वैज्ञानिकहरुले निरन्तर सत्यको खोजि गर्दा त्यो कथन गलत सावित भयो । यसर्थ मानवीय उन्नतिका लागि कुनै स्थापित सत्यको शर्तरहित अनुशरण भन्दा पनि सत्यको अविचलित र निरन्तर खोजिको चरित्र महत्वपूर्ण हुन्छ । नाफा नोक्सानको विवेकशीलतालाई भन्दा नैतिक विवेकशीलता जोड दिने चरित्रलाई “वैयक्तिक सदाचारिता” भनिन्छ ।
यो ब्यक्तिको आफ्नै आन्तरिक नियन्त्रणमा आधारित हुन्छ । नियम कानूनको डरबाट कुनै ब्यवहार गर्नुभन्दा असल चरित्रहरुको निरन्तर अभ्यासबाट निर्देशित भई ब्यवहार गर्नु उत्तम हुन्छ भन्ने मान्यतामा आधारित सदाचारितालाई “वैयक्तिक सदाचारिता” भन्न सकिन्छ ।
संगठनका उदेश्य एवं मूल्यहरु प्रतिको अगाध आस्था र समर्पणबाट निसृतः हुने चरित्रहरुले “संगठनात्मक सदाचारिता” लाई जनाउछन । समाजका मापदण्ड र मूल्यहरुलाई भित्रि हृदय देखि नै स्विकार गर्दै त्यसलाई जस्तोसुकै परिस्थितिमा अवलम्वन गर्ने गुणलाई “सामाजिक सदाचारिता” भनिन्छ । पेशागत आचार संहिताको वोध, अभ्यास र समर्पण गर्ने सदाचारितालाई “ब्यवासायिक सदाचारिता” भनिन्छ ।
इमान्दारिता, पारदर्शिता, जवाफदेहिता, गोपनियता, वस्तुगतता, आज्ञाकारिता, मानवियता, कानूनको पालना आदि गुणहरु “ब्यवासायिक सदाचारिता” का अभिन्न तत्वहरु अन्तर्गत पर्छन । आफ्ना ब्यक्तिगत मूल्य र संगठनका मूल्यहरु वीच घर्षण पैदा भएमा पेशाविदले संगठनका मूल्यहरुलाई परिवर्तन गर्ने प्रयास गर्छ वा आफूलाई सम्बन्धित संगठनबाट अलग गर्छ । मूल्यहरुको सम्झौतालाई “ब्यवसायिक सदाचारिता” ले स्विकार गर्दैन । किनकी सदाचारिता भन्ने मूल्य सम्झौतामा वाच्न सक्दैन ।
निजामती सेवामा सदाचारिताः सार्वजनिक हितको सिद्धान्तबाट पूर्ण निर्देशित हुनु नै निजामती सेवाको सदाचारिता हो । ब्यक्तिगत वा अन्य लाभ वा कुनै समूहको स्वार्थबाट अप्रभावित भई सार्वजनिक सेवा र सार्वजनिक हित प्रतिको प्रतिवद्धता र अभ्यासलाई नै निजामती सेवाको सदाचारिता भन्न सकिन्छ ।
यस भित्र निम्न गुणहरु पर्दछन
१ आफ्ना कर्तव्य र दायित्वलाई पूर्ण रुपले जिम्मेवार भई पालना गर्ने ।
२ पेशागत आचरणको पालना र ब्यवसायिक ब्यवहारको निरन्तर प्रदर्शन गर्ने ।
३ संगठन र सेवाप्रति जनविश्वास अभिवृद्धि गर्ने ।
४ सार्वजनिक कोष र सम्पत्तिको उचित र मितव्ययी तवरले उपयोगको सुनिश्चितता गर्ने ।
५ स्वच्छ, निष्पक्ष, छरितो प्रभावकारी र संवेदनशील ढंगले सार्वजनिक मामिलाको ब्यवस्थापन गर्ने
६ कानूनको पालना गर्ने । प्रशासकिय न्यायको प्रत्याभूतिका लागि स्वसकृय भई काम गर्ने ।
७ ब्यक्तिगत वा समूहगत निहित स्वार्थका लागि सार्वजनिक शक्ति, अधिकार र श्रोतको दुरुपयोग नगर्ने ।
८ सार्वजनिक नीति वा सेवासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सरोकारीता ब्यक्ति वा समूहबाट कुनै पनि प्रकारको लाभ, उपहार, सम्मान वा आतिथ्यता ग्रहण नगर्ने ।
९ सूचनाको हक सम्बन्धि ऐन बमोजिम आफू कार्यरत निकायका काम र विवरणलाई सार्वजनिक गर्ने ।
१० जनप्रतिनिधि संख्या र लोकतन्त्रमा अगाध आस्था एवं विश्वास कायम गर्ने । नीति(राजनीतिमा आफ्नो धारणा राखि नीतिको सिर्जनात्मक विकासमा सहयोग गर्न पाइए पनि दलिय राजनीतिमा आवद्ध हुन पाइदैन ।
११ निजामती सेवाबाट निवृत्त भइसकेपछि पनि माथि उल्लेखित गुणहरुमा अटल रहने ।
भ्रष्टाचार र सदाचारिताः सदाचारिता गुमाएका ब्यक्तिको आचरणका सम्बन्धमा अनुमान गर्न सकिदैन । अनिश्चित स्वभाव भएका ब्यक्तिलाई विश्वास गर्न सकिदैन । प्रशासकीय पद्धतिमा त्यस्ता अविश्वसनीय ब्यक्तिहरुको उपस्थितिले शासन प्रणालीलाई भताभुग पार्दछ । यसर्थ सदाचारको विपरित अवस्था नै भ्रष्टाचार हो । मेहनत विना धन आर्जन गर्न खोज्ने ब्यक्तिले छोटो उपायको खोजि गर्छन ।
त्यस्ता छोटोउपाय खोज्ने कर्मचारीले निजामती सेवाका मूल्यहरुसँग सम्झौता गर्छन र भ्रष्टाचारमा अभ्यस्त हुन्छन ।विज्ञता, कार्यकुशलता र सदाचारिताः कुनै कर्मचारी आफ्नो बिषय क्षेत्रमा विज्ञ र कार्यकुशल छ । तर त्यो ब्यक्तिसँग सदाचारिता छैन भने त्यसले निजामती सेवाको गरिमालाई कायम गर्न सक्दैन । यसर्थ विज्ञ वा कार्यकुशल हुनु भनेको सदाचारिताको समानर्थि शव्द हुन सक्दैन । आफ्नो बिषयक्षेत्रमा कम ज्ञान भएका ब्यक्ति पनि सदाचारी भए भने समयक्रममा निरन्तरको लगावले आवश्यक ज्ञान हासील गर्न सक्छन । तर सार्वजनिक सेवामा विज्ञ तर भ्रष्ट ब्यक्तिको उपस्थित भयो भने त्यसले निजामती सेवामा पु¥याउने क्षतिलाई परिपूर्ति गर्न निकै धेरै समय लाग्न सक्छ । कुनै ब्यक्ति विज्ञ र सदाचारिता दुवै छ भने त्यो उत्तम जनशक्ति हो ।
तर विज्ञ र सदाचारिता दुवै छ भने त्यो उत्तम जनशक्ति हो तर विज्ञ र सदाचारी मध्ये सदाचारीताको चयन नै उपयुक्त चयन हो । किनकी तालिम लगायतका उपायबाट विज्ञताको विकास गर्न सकिन्छ वा अन्य विज्ञहरुको परामर्श लिन सकिन्छ । तर सार्वजनिक अधिकारी नै भ्रष्ट भए भने कुनै पनि बाह्य परामर्शले सार्वजनिक हितलाई सुनिश्चित गर्न सक्दैन ।
(लेखक नेपाल सरकारका सह सचिव हुन् )


