लोकसेवा परीक्षा तयारी/टिप्स ( विषयगत प्रश्नोत्तर )


काठमाडौ

कानूनको महत्व दर्शाउदैँ ऐन र नियम विचको फरक छुट्याउनुहोस् ।

  • मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो नै कानून हो ।
  • नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले कानूनलाई नेपाल ऐन वा नेपालको कुनै भागमा कानून सरह लागु हुने ऐन, सवाल, नियम, आदेश, विनियम वा ऐन अन्तर्गत बनेका निर्देशिका वा कार्यविधिलाई परिभाषित गरेको छ ।

कानुनको महत्व/ आवश्यकता

  • समाजमा शान्ति, सुव्यवस्था तथा अमनचयन कायम राख्न
  • व्यक्तिका नैसर्गिक तथा मौलिक हक अधिकारको संरक्षण गर्न
  • सरकारलाई निरकुंश हुनबाट रोकी बिधिको शासन सञ्चालन गर्न
  • सामाजिक समानता र समता कायम गर्न ।
  • सामाजिक न्याय प्रबर्द्धन गर्न
  • नागरिकमा अधिकार र कर्तव्यको बोध गराउन।
  • राज्य प्रणाली सञ्चालनका आधारहरु तयार गर्न ।
  • सामाजिक नैतिकता, अनुशासन मार्फत सभ्य र सुसंस्कृत समाज निर्माणको गर्न
  • मानवीय व्यवहारहरुको निर्देशन र नियन्त्रण गर्न ।
  • अपराध नियन्त्रण र दण्डहिनताको अन्त्य गर्न
  • समाजका सदस्यबीचको सुसम्बन्ध स्थापना गर्न
  • सामाजिक आवश्यकताको पुर्ति गर्न ।

ऐन र नियमबिचको फरक

  • ऐन व्यवस्थापिका संसदले निर्माण गर्दछ भने नियम मन्त्रीपरिषद, सर्वोच्च अदालत, संवैधानिक निकाय आदिले निर्माण गर्न सक्छन्
  • ऐन नेपालको संविधान सँग नबाझिने गरी बनाइन्छ भने नियम मातृ ऐनको उद्देश्य पुरा गर्न बनाइन्छ
  • ऐनमा मुलत सारवान विषयवस्तुहरु समावेश गरिन्छ भने नियम कार्यविधिगत तथा प्रक्रियागत विषयवस्तु समावेश गरिन्छ
  • ऐन सर्वोच्च विधायन अन्तर्गत बनाइन्छ भने नियम प्रत्यायोजित विधायन अन्तर्गत निर्माण हुन्छ
  • ऐन शक्तिशाली हुन्छ भने नियम कम शक्तिशाली हुन्छ
  • ऐन निर्माण र संसोधन प्रक्रिया कठिन हुन्छ भने नियम निर्माण र संसोधन गर्ने प्रक्रिया सरल हुन्छ

निष्कर्ष

समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्न, विधिको शासनको मान्यता अनुरुप राज्य सञ्चालन गर्न तथा मानवका वैध इच्छा र आवश्यकता पुर्तिका लागि कानूनको जरुरत पर्दछ । विधायका निर्मित ऐनले मात्र राज्य सञ्चालन गर्न कठिन हुन्छ । मातृ ऐनले दिएको अधिकार प्रयोग गरी नियम, विनियम, कार्यविधि, निर्देशिका, मापदण्ड समेतको निर्माण गरी ऐनको उद्देश्य परिपुर्ति गर्नुपर्ने हुन्छ ।

दरपिठ हुने अवस्थाहरु उल्लेख गर्दै तारिख गुजारेमा पर्नसक्ने प्रभाव लेख्नुहोस् ।

  • न्यायिक उपचारको लागि प्राप्त मुद्दा दर्ता गर्न नमिल्ने भएमा दर्ता गरी कामकारबाही शुरु गर्न इन्कार गरेको अवस्था नै दरपीठ हो ।

दरपिठ हुने अवस्थाहरु

  • लिखत हदम्याद वा म्याद भित्र नभएमा
  • हकदैया नभएमा
  • अदालतको क्षेत्राधिकारभित्र नपर्ने भएमा
  • कानूनी आधारमा नभएमा
  • रीतपुर्वक नभएमा (त्रुटी सच्याई नल्याएमा)
  • लिखित साथ पेश गर्नुपर्ने कागजात पेश नगरेको देखिएमा
  • नजिर वा सिद्धान्त प्रतिपादित भइसकेको विषय भएमा
  • अदालतमा विचाराधीन रीटको विषय भएमा
  • कानून बमोजिम दर्ता गर्न नमिल्ने भएमा

तारिख

  • कुनै मुद्धा मामिलामा काम वा हाजिरी हुनुपर्ने कारण, दिन, समय र स्थान उल्लेख गरी जारी गरिने पर्चा नै तारिख हो ।

तारिख गुजारेमा पर्ने प्रभाव

  • प्रतिउत्तर पेश नगर्दै वादीले तारिख गुजारेमा – फिराद दावी डिसमिस
  • प्रतिउत्तर पेश गरेपछि वादीले तारिख गुजारेमा – स्वीकार गरेको भए वा ठहरेमा सोही बमोजिम र बाँकी डिसमिस
  • प्रतिवादीले प्रतिउत्तर पेश नगरेमा वा पेश गरेर गुजारेमा एकतर्फी फैसला
  • वादी वा प्रतिवादी दुवैले गुजारेमा – मुद्धा डिसमिस

 

राजपत्रको परिचय दिदैँ राजपत्रको महत्व उल्लेख गर्नुहोस् ।

  • राजपत्र राज्यको आधिकारिक र औपचारिक सूचनापत्र एवं खबर पत्रिका हो
  • कानूनको अज्ञानता क्षम्य हुदैँन भन्ने सिद्धान्त अनुरुप सबै जानकारी दिने उद्देश्यले राजपत्रको प्रकाशन थालिएको हो
  • नेपालमा राजपत्रको प्रकाशन सर्वप्रथम वि.स. २००८ साल श्रावण २३ गतेदेखि नेपाल गजेटको रूपबाट शुरू भएको।
  • नेपाल गजेटलार्इ २०२३ साल माघ १७ गतेबाट राजपत्रको नाममा संसोधन गरिएको
  • नेपाल राजपत्र नेपाल सरकारको आधिकारीक प्रकाशन हो जसमा राष्ट्राध्यक्षबाट जारि भएका सम्बोधन, विधायिका संसदबाट पारित भएका ऐन अध्यादेशहरू र नियम, प्रकाशन गरिन्छ ।
  • राजपत्रलाई देहाय अनुसार दुई प्रकारमा विभाजन गरिएको छ
  • संख्या (नियमित अंक)
  • अतिरिक्ताकं
  • राजपत्रमा प्रकाशन हुने सामाग्रीहरुको महत्व र गाम्भीर्यतालाई दृष्टिगत गरी नेपाल राजपत्रलाई निम्न लिखित छ भागमा विभाजन गरिएको छ :
  • भाग १ – संविधान वा संविधान सरहका घोषणा पत्रहरु
  • भाग २ – ऐन तथा अध्यादेशहरु
  • भाग ३ – मन्त्रिपरिषद्बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश वा अधिकार पत्रहरु
  • भाग ४ – संविधान अन्तर्गतका नियुक्ति तथा सूचनाहरु
  • भाग ५ – ऐन नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा प्रकाशन गर्नु पर्ने भनि उल्लेख भएका सूचनाहरु
  • भाग ६ – नेपाल पक्ष भएका सन्धी तथा सम्झौताहरु

राजपत्र प्रकाशनको उद्देश्य तथा महत्व

  • नेपालको ऐन, नियमबारे सर्वसाधारणलाई सहज रूपले जानकारी गराउनु,
  • नागरिकहरूलाई सूचनाको हकको प्रत्याभूति दिलाउनु,
  • नागरिकहरूलाई ऐन, नियमको दायरामा ल्याउनु,
  • विभिन्न प्रकारका महत्त्वपूर्ण सरकारी निर्णयहरुलाई वैधानिकता दिनु,
  • सरकारी क्रियाकलापमा पारदर्शिता ल्याउनु,
  • राज्यका महत्त्वपूर्ण निर्णय एवं नियुक्तिहरुलाई सार्वजनिक गर्नु,
  • नेपाल सरकारको आधिकारिक सूचना तथा दस्ताबेजहरूलाई सहज रूपमा आमजनतासमक्ष पुर्‍याउनु,
  • कानुन निर्माण भएको, संशोधन भएको तथा खारेज भएको आधिकारिक जानकारी एउटै माध्यमबाट प्राप्त गर्नु आदि।

निष्कर्ष

आम जनसमुदायलाई सरकारी निर्णयहरुको लिखित जानकारी दिई नागरिकहरुको सूचनाको हक सम्बन्धी अधिकार प्रचलन गराउनु राजपत्रको मुख्य उद्देश्य हो ।जनताले राजपत्रको माध्यबाट राज्यसँग नमागीकनै राज्यका आधिकारिक निर्णयको जानकारी प्राप्त गर्ने भए पनि नागरिकहरु अझै पनि राजपत्रको विषयमा जानकार हुन नसकेकोले सचेतना अभिवृद्धि गर्नुपर्दछ ।

२०८३ बैशाख २९, मंगलवार २२:४६ प्रकाशित
ट्रेन्डिङ समाचार