धनगढी । कैलाली जिल्ला कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । गएराति भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जनाए ।
प्रहरीका अनुसार शुक्रबार राति करिब ११ बजेतिर झडप भएको हो । झडपका क्रममा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ । डीएसपी सिंहका अनुसार घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
यसअघि बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

