तीनपाटन गाउँपालिकाले बाढीपीडितका लागि ४७ लाख ६१ हजार सहयोग गर्ने


काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४७ लाख ६१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको २०८३ भदौ १८ गते बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अनुसार सहयोग रकममध्ये जनप्रतिनिधिको तर्फबाट ८० हजार, कर्मचारीको तर्फबाट १२ लाख ८ हजार र विद्यालय शिक्षक–कर्मचारीको तर्फबाट ३४ लाख ७३ हजार रुपैयाँ रहेको छ।

गाउँपालिकाले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र तनहुँमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गरेको छ।

गाउँपालिकाले विपद्को समयमा सहयोग, सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको भन्दै आफ्नो सहयोगलाई प्रभावित नागरिकको पीडामा साथ र अन्तरसरकारी समन्वयको प्रयासका रूपमा उल्लेख गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार