लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालद्वारा तिलगंगा आँखा प्रतिष्ठानलाई १०८ आँखा दानको सहमति पत्र हस्तान्तरण


काठमाडौं । लायन्स इन्टरनेशनल स्थापनाको १०८ वर्ष पूरा गरी १०९औँ वर्षमा प्रवेश गरेको ऐतिहासिक अवसर पारेर लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले एक उदाहरणीय मानवीय कार्य सम्पन्न गरेको छ । डिस्ट्रिक्टले ‘नेपाल आँखा बैंक’, तिलगंगा आँखा प्रतिष्ठान, गौशालालाई १०८ वटा मरणोपरान्त कर्निया (आँखा) दानको सहमति पत्र औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

“जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मूल नारा र अन्धोपन निवारण गर्ने लायन्सको अन्तर्राष्ट्रिय गौरवमय इतिहासलाई आत्मसात् गर्दै डिस्ट्रिक्ट ३२५ के नेपालका लायन लिडर तथा सदस्यहरूले सामूहिक रूपमा यो सामाजिक प्रतिवद्धता जनाएका हुन् । संस्था १०८ वर्ष पार गरेको सुखद उपलक्ष्यमा १०८ जना दाताहरूबाट संकलन गरिएको उक्त आँखा दान फर्म नेपाल आँखा बैंकका अधिकारीहरूलाई बुझाइएको थियो ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईंले नेतृत्व गर्दै लायन्स इन्टरनेशनलले विश्वभर नै दृष्टि संरक्षण र अन्धोपन विरुद्ध निरन्तर काम गर्दै आएको स्मरण गराउनुभयो । गभर्नर हुमागाईंले भन्नुभयो, “मरणोपरान्त गरिने आँखा दानले दृष्टिविहीन व्यक्तिहरूको जीवनमा नयाँ उज्यालो छर्न सक्ने भएकाले यो कार्य आफैँमा महादान हो । हाम्रो संस्थाको १०८औँ वर्षगाँठलाई योभन्दा सुन्दर र सेवामूलक ढंगले मनाउन नसकिने भएकाले डिस्ट्रिक्ट ३२५ के नेपालले यो ऐतिहासिक कदम चालेको हो ।”

आँखा दान फर्म बुझ्दै तिलगंगा आँखा प्रतिष्ठान तथा नेपाल आँखा बैंकका प्रतिनिधिले डिस्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाईं तथा डिस्ट्रिक्ट ३२५ के नेपालको सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गर्नुभयो । समाजमा अझै पनि आँखा दान सम्बन्धी भ्रम र चेतनाको कमी रहेको अवस्थामा लायन्स जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व तहबाटै यति ठूलो संख्यामा सामूहिक आँखा दानको घोषणा हुनुले सकारात्मक सन्देश प्रवाह गर्ने र धेरैलाई यस पुण्य कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास उनीहरूले व्यक्त गरे ।

मानवीय सेवा, भ्रातृत्व र सामाजिक रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको लायन्स इन्टरनेशनलले आफ्नो १०८ वर्षको यात्रा पार गर्दा नेपालमा पनि स्वास्थ्य, शिक्षा, पर्यावरण र विपद् व्यवस्थापनका क्षेत्रमा अमूल्य योगदान पुर्‍याउँदै आएको छ । डिस्ट्रिक्ट ३२५ के नेपालको यो पछिल्लो कार्यले लायन्सको सेवाको भावनालाई थप उचाइमा पुर्‍याएको बताइएको छ ।

२०८३ जेष्ठ २७, बुधबार १६:२८ प्रकाशित
ट्रेन्डिङ समाचार