
सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग भन्नाले सरकारी निकायले नागरिकलाई सेवा प्रदान गर्न कम्प्युटर तथा डिजिटल उपकरण, सफ्टवेयर तथा विद्युतीय प्रणालीहरूको प्रयोग गर्नुलाई जनाउँछ ।
यसको उद्देश्य सरकारी कामकाजलाई पारदर्शी, द्रुत, सुलभ र प्रभावकारी बनाउनु हो । सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग सुशासन र नागरिक सन्तुष्टि अभिवृद्धिको आधार पनि हो ।
नेपालमा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उपयोग गरी सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन नीतिगत, कानुनी, संस्थागत तथा प्रणालीगत पहलकदमी भएका छन् । यी प्रयासबाट मुलुकले हासिल गरेका महìवपूर्ण उपलब्धि उदाहरणसहित देहायबमोजिम प्रस्तुत गर्न सकिन्छ :
– सरल, सहज र झन्झटमुक्त सेवा,
– द्रुत सेवा र समयको बचत,
– पूर्वानुमानयोग्य सेवा,
– स्रोतसाधनको चुहावट न्यूनीकरण,
– पारदर्शिता र जवाफदेहिता अभिवृद्धि,
– सूचना, तथ्याङ्क तथा अभिलेखको चुस्त व्यवस्थापन,
– टोकन प्रणाली, टाइम कार्ड प्रणाली, फाइल ट्र्याकिङ प्रणाली, अफिस अटोमेसन जस्ता प्रविधिको प्रयोगबाट बिचौलियाको प्रभाव नियन्त्रण,
– सेवा एकीकरण र लागत न्यूनीकरण,
– विपत् र महामारीको समयमा समेत सार्वजनिक सेवाको निरन्तरता,
– दुर्गमा बस्तीमा टेलिमेडिसिन सेवा प्रदान,
– नागरिक गुनासोको द्रुत सुनुवाइ,
– नागरिक पृष्ठपोषण प्राप्त गरी सेवा प्रवाह सुधार गर्ने अवसर,
– नागरिक सन्तुष्टिमा क्रमिक सुधार ।
केही महत्वपूर्ण उदाहरण :
क) सामाजिक सुरक्षा भत्ता वितरण : साविकमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा लाभग्राही पहिचान र भत्ता भुक्तानी प्रक्रिया व्यवस्थित थिएन । स्रोत चुहावट, दोहोरोपना, समयमा भुक्तानी नहुने, असुरक्षा जस्ता समस्या विद्यमान थिए । व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा सूचना प्रविधिको प्रयोगसँगै सेवा प्रवाहमा समयबद्धता, पारदर्शिता, अनुमानयोग्यता हासिल हुनुका साथै दोहोरोपना र चुहावट न्यूनीकरण भएको छ । बैङ्किङ प्रणालीबाट रकम भुक्तानी हुने व्यवस्थाले वित्तीय कारोबारलाई समेत सुरक्षित बनाएको छ ।
ख) प्रशासनिक सेवा : लोक सेवा आयोगका विज्ञापनमा अलनाइन आवेदन, राहदानी, नागरिकता सिफारिस, सवारीचालक अनुमतिपत्र, वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति, घर जग्गा रजिस्ट्रेसन तथा हक हस्तान्तरणलगायतका प्रशासनिक प्रकृतिका सेवालाई सूचना प्रविधिको प्रयोगले सहज, सरल र कम खर्चिलो बनाएको छ । नागरिकले घरमै बसेर अलनाइन माध्यमबाट राजस्व तिर्न सक्ने गरी प्रणाली विकास भएको छ । यसबाट नागरिकको समय र स्रोत बचत हुनुका साथै झन्झट रहित सेवा प्राप्त गर्न सकिएको छ ।
ग) वित्तीय सेवा : बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, गैरबैङ्किङ वित्तीय सेवा प्रदान गर्ने संस्थालगायतबाट प्रदान हुने वित्तीय सेवाहरू घरमै बसेर प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको छ । यसले सेवाको लागत र समय घटाएको छ ।
घ) एकीकृत सेवा : नागरिक एपको माध्यमबाट विभिन्न निकायमा छरिएर रहेका सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत प्रदान गरी नागरिकको समय, लागत र श्रमको बचत गर्न पहल गरिएको छ ।
सेवा प्रवाहमा सूचना प्रविधि प्रयोगका चुनौतीहरू :
नेपालको सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन देखा परेका चुनौती यसप्रकार छन् ः
– सेवा प्रवाहमा डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगसँगै सिर्जना हुने समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नु,
– डिजिटल डिभाइडलाई सम्बोधन गर्नु,
– डिजिटल पूर्वाधारमा पर्याप्त लगानी गर्नु,
– साइबर हमलालगायतका आपराधिक कार्यबाट प्रणाली सुरक्षित राख्नु,
– सेवाग्राहीका व्यक्तिगत तथ्याङ्कको सुरक्षा गर्नु,
– डाटा ब्याक अपसम्बन्धी भरपर्दो प्रबन्ध गर्नु,
– निकायगत प्रणालीबिच अन्तर आबद्धता कायम गर्नु,
– सरकारी र गैरसरकारी निकायबिच तथ्याङ्क साझेदारी गरी सेवा प्रवाहमा प्रभावकारिता हासिल गर्नु,
– राष्ट्रिय सुरक्षामा आँच आउन नदिनु,
– सरकारी क्षेत्रमा सूचना प्रविधिसम्बन्धी जनशक्ति विकास गर्नु र टिकाइ राख्नु,
– अन्त्यमा सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगले सरकारी सेवामा सहजता, पारदर्शिता, र द्रुतता ल्याएको छ । यसको प्रभावकारिता बढाउन डिजिटल पहुँच विस्तार, जनचेतना, साइबर सुरक्षालगायतका पक्षमा ध्यान दिनु आवश्यक छ । यसबाट नागरिक र सरकारबिचको सम्बन्धलाई अझ प्रभावकारी र विश्वासिलो बनाउन