लोकसेवा परीक्षा तयारी सामग्री: पुँजी निर्माण र महत्व


पुँजी निर्माण भनेको के हो ? यसको महत्व उल्लेख गर्दै पुँजी निर्माणका चरणहरू माथि सङ्क्षिप्तमा प्रकाश पार्नुहोस् । साथै पुँजी निर्माणमा सरकारको भूमिका कस्तो रहन सक्छ ? सोसमेत उल्लेख गर्नुहोस् ।

 अर्थतन्त्रमा वस्तु तथा सेवाको उत्पादन वृद्धि गर्न उत्पादनमूलक साधनको सङ्कलन एवं विकास गर्ने प्रक्रिया पुँजी निर्माण हो । पूर्वाधार विकास, उद्योग स्थापना, औजार उपकरण तथा प्रविधिको खरिदलगायतका कार्य पुँजी निर्माण अन्तर्गत पर्छन् । व्यक्तिको हकमा आम्दानीको निश्चित हिस्सा बचत गरी क्रमशः उत्पादनमूलक सम्पत्ति थप्दै जानुलाई पुँजी निर्माणको रूपमा बुझ्न सकिन्छ । सरकारको हकमा वस्तु तथा सेवाको उत्पादन बढाउन सहयोग पुग्ने गरी सडक, पुल, नहर, भवनलगायतका पूर्वाधार विकास गर्नु तथा औजार, उपकरण, मेसिन, प्रविधि खरिद गरी उपयोग गर्नुलाई पुँजी निर्माणको रूपमा बुझ्नु पर्छ । त्यसैले पुँजी निर्माणलाई कुनै पनि लगानीबाट थप पुँजी सिर्जना हुने अर्थमा बुझ्नु पर्छ । सरकारी परियोजनाहरू निर्माणमा ढिलाइ हुँदा, निर्माण सम्पन्न ठुला परियोजना सञ्चालनमा नआउँदा, निजी क्षेत्रको लगानी सुस्त हुँदा, सरकारी एवं निजी लगानी अनुत्पादक क्षेत्रमा बढी हुँदा तथा सरकारले पुँजीगत खर्च बढाउन नसक्दा पुँजी निर्माण प्रभावित हुन्छ ।

पुँजी निर्माणको महत्व :

– उत्पादन र उत्पादकत्व वृद्धि गरी मुलुकको आर्थिक वृद्धिमा टेवा पु¥याउन,

– मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गरी बेरोजगारी समस्या सम्बोधन गर्न,

– नवीन प्रविधिको विकास गरी कार्यकुशलता र दक्षता अभिवृद्धि गर्न,

– आयस्तर वृद्धि गरी नागरिकको जीवनस्तर माथि उकास्न,

– अर्थतन्त्रमा वस्तु तथा सेवाको मागमा वृद्धि गर्न,

– राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाई परनिर्भरता कम गर्न ।

पुँजी निर्माणको प्रक्रिया :

– पुँजी निर्माण मूलतः तीन तहमा हुन्छ । जसलाई निम्न प्रक्रियागत चरणहरूबाट स्पष्ट पार्न सकिन्छ ।

क) बचत सिर्जना : पुँजी निर्माणको पहिलो तह नै बचत सिर्जना गर्नु हो । यो कार्य जनस्तरमा हुन्छ । व्यक्तिले आफ्नो आम्दानीमध्ये निश्चित अंश उपभोगमा लगाई बाँकी रकम बचत गर्छन् । बचतलाई प्रतिव्यक्ति आय, मुद्रास्फीति, वित्तीय साक्षरताको अवस्था, बैङ्क तथा वित्तीय संस्थाको उपलब्धता, व्यक्तिको इच्छाशक्ति, बचत गर्ने बानी, पारिवारिक तथा सामाजिक मूल्य मान्यता जस्ता तत्वले असर गर्छन् ।

ख) बचत सङ्कलन र परिचालन : पुँजी निर्माणको दोस्रो चरणमा बचत सङ्कलन र परिचालन पर्छ । बैङ्क तथा वित्तीय संस्था, कम्पनी, गैरबैङ्किङ वित्तीय कारोबार गर्ने संस्था, बिमा कम्पनी, सहकारीले बचत सङ्कलन र परिचालनको कार्य गर्छन् । बिमा कम्पनीले बिमा पोलिसी बिक्री गरेर, पब्लिक कम्पनीहरूले सेयर बिक्री गरेर, सरकारले ऋणपत्र जारी गरेर, व्यक्ति तथा कम्पनीले पुँजी बजारमा सेयर तथा ऋणपत्र खरिद गरेर पुँजी परिचालनको काम गरिरहेका हुन्छन् । ठुलो मात्रामा बचत परिचालनको लागि सुदृढ पुँजी बजारको विकास हुन आवश्यक मानिन्छ । यस्तो अवस्थामा बैङ्क बचतबाहेक ऋणपत्र, सेयरलगायत पुँजी बजारका औजारमार्फत ठुलो मात्रामा पुँजी परिचालन गर्न सकिन्छ ।

ग) पुँजीगत सामान तथा पूर्वाधारमा लगानी : पुँजी निर्माणको अन्तिम चरण लगानी हो । प्रतिफलयुक्त परियोजनामा गरिने लगानीले थप पुँजी सिर्जनामा सहयोग गर्छ । व्यक्तिले आफ्नो बचत रकम, कम्पनीले स्वपुँजी वा ऋण तथा सरकारले आफ्नो राजस्व, वैदेशिक अनुदान वा ऋण र आन्तरिक ऋणसमेतबाट स्रोत व्यवस्था गरी पुँजीगत मालसामान वा प्रविधि खरिद एवं पूर्वाधार निर्माणमा लगानी गर्न सक्छन् । पुँजीको लगानीबाट पुँजी वृद्धि गर्ने कार्य नै पुँजी निर्माण भएकाले पुँजी निर्माणका लागि लगानी अत्यावश्यक मानिन्छ ।

पुँजी निर्माणमा सरकारको भूमिका :

– पुँजी निर्माणका तीन वटै चरणमा सरकारको भूमिका रहन्छ । निजी क्षेत्रबाट हुने पुँजी निर्माणका लागि समेत सरकारले लगानीको वातावरणमा सुधार गर्नु पर्छ । पुँजी निर्माणमा सरकारको भूमिका निम्न अनुसार रहन सक्छ ।

– बचत तथा लगानीसम्बन्धी नीति तर्जुमा र कार्यान्वयन गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,

– सुदृढ पुँजीबजार विकास गर्ने,

– वित्तीय प्रणालीको नियमन गर्ने,

– लगानीका नवीन औजार र ढाँचाहरू विकास गर्ने,

– सरकारी ऋणपत्रमा लगानी गर्न आमनागरिकलाई आकर्षित गर्ने,

– बचतका लागि प्रोत्साहन गर्न कर छुट तथा सहुलियत प्रदान गर्ने, विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गर्ने,

– उपलब्ध स्रोतलाई दिगो, गुणस्तरीय र प्रतिफलयुक्त पूर्वाधारमा लगानी गर्ने,

– सार्वजनिक संस्थानको माध्यमबाट सरकारी लगानीलाई पुँजी निर्माणमा उपयोग गर्ने,

– बृहत् र रणनीतिक महत्वका पूर्वाधार आयोजना निर्माण गरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने,

– अन्त्यमा बचत र लगानी पुँजी निर्माण प्रक्रियाका प्रमुख अवयव हुन् । मुलुकको आर्थिक विकासका लागि पुँजी निर्माणको महत्व उच्च छ । सरकारले नीतिगत सहजीकरण, नियामकीय भूमिका निर्वाह तथा उत्पादनमूलक परियोजनामा उपलब्ध स्रोत परिचालन गरी पुँजी निर्माण कार्यमा योगदान गर्न सक्छ ।

२०८१ पुष २३, मंगलवार ०९:३७ प्रकाशित
ट्रेन्डिङ समाचार