लोकसेवा टिप्स : दर्जामूलक निजामती सेवाका सबल र दुर्बल पक्ष


दर्जामुलक निजामती सेवाका सबल र दुर्बल पक्षहरु केलाउँदै यी पदमूलक र दर्जामूलक निजामती सेवा बीचको भिन्नता स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि
(क) पदमूलक निजामती सेवा
– पदले गर्नुपर्ने कार्यलाई आधार मानेर कर्मचारीको पद वर्गीकरण गरिने निजामती सेवालाई पदमूलक निजामती सेवा भनिन्छ ।
– कर्मचारीको दर्जा र उसले पाउने तलब, भत्ता तथा अन्य सुविधा कार्यसम्पादनमा आधारित हुन्छ भने यसलाई कार्यमूलक निजामती सेवा पनि भनिन्छ ।
(ख) दर्जामूलक निजामती सेवा
– दर्जाको आधारमा कर्मचारीको पद वर्गीकरण गरिने निजामती सेवालाई दर्जामूलक निजामती सेवा भनिन्छ ।
– यस्तो प्रकृतिको निजामती सेवामा कर्मचारीलाई उसले पाउने दर्जाको आधारमा पहिचान गरिन्छ र तलब, भत्ता तथा अन्य सुविधा पनि कर्मचारीको दर्जा वा उसको श्रेणीको आधारमा निर्धारण हुन्छ ।
दर्जामूलक निजामती सेवाका सबल पक्षहरू
– कर्मचारीको नियुक्ति पदस्थापना सरुवा तथा बढुवा कुनै खास पदमा हुने
– दर्जाका आधारमा भूमिका, अधिकार, जिम्मेवारी तथा तलब सुविधा उपलब्ध गराइने
– कर्मचारीहरूको व्यवस्थापन गर्न सहज हुने
– कार्यको सुरक्षा बढाउन सकिने
– सेवा व्यवस्थापन लचकदार हुने
– वृत्ति विकास दर्जाका आधारमा हुने
– पद र कार्यभन्दा सेवाप्रति लगाव हुने
– समान कार्य र समान तलब सिद्धान्त अवलम्बन गर्न सहज हुने
दर्जामूलक निजामती सेवाका दुर्बल पक्षहरू
– व्यक्ति केन्द्रित हुने
– कार्यसम्पादन र प्रोत्साहनमा कठिनाइ हुने
– कार्य विश्लेषण गौण मानिने
– पदीय अहंकार रहने
– माथिल्लो दर्जा ज्ञान सीप र क्षमतामा पनि माथि नै मानिने
– वृत्ति विकास र कार्यक्षमताबीच कमजोर आवद्धता हुने
– विशेषज्ञता हासिल नहुने
पदमूलक र दर्जामूलक निजामती सेवाबीचको भिन्नता
– पदमूलक व्यवस्थामा सेवा प्रवेशका लागि विशेष योग्यता आवश्यक पर्दछ भने दर्जामूलकमा सामान्य प्रकारको योग्यता भए पुग्दछ ।
– पदमूलक व्यवस्थामा सुविधा र जिम्मेवारी काम र उत्पादकत्वको आधारमा हुन्छ भने दर्जामूलकमा सुविधा र जिम्मेवारी पदेन हुने गर्दछन् ।
– पदमूलक व्यवस्थामा वृत्ति प्रणाली खुला हुन्छ भने दर्जामूलक व्यवस्थामा बन्द वृत्ति प्रणालीमा जोड दिइन्छ ।
– पदमूलक व्यवस्था अधिकतम कार्य सम्पादनमूलक हुन्छ भने दर्जामूलक व्यवस्था सुरक्षात्मक र उत्पादनमूलक हुन्छ ।
– पदमूलक व्यवस्थामा काम कर्तव्य र पद एक अर्कासँग सम्बन्धीत छ भने दर्जामूलक व्यवस्थामा समूहभित्रको गतिशीलताले पेसागत विकासमा बाधा पुग्दछ ।
– पदमूलक व्यवस्थाको उद्देश्य प्रणालीमा विज्ञता भित्र्याउने हो भने दर्जामूलक व्यवस्थाको उद्देश्य सामान्य उद्देश्यहरू पूरा गर्ने हो ।
– पदमूलक व्यवस्थामा कार्यस्तरका आधारमा ग्रेडको तह निर्धारण गरिन्छ भने दर्जामूलक प्रणालीमा जेष्ठताका आधारमा ग्रेडको तह निर्धारण गरिन्छ ।
– पदमूलक व्यवस्थामा पदोन्नति प्रतिस्पर्धात्मक हुन्छ भने दर्जामूलकमा सुपरीवेक्षकको मूल्याङ्कनबाट पदोन्नति गर्ने विधि अपनाइन्छ ।
– पदमूलक व्यवस्थामा कर्मचारीहरू विशेषीकृत समूहका ज्ञाता हुने हुँदा सरुवा प्रणाली व्यवस्थित हुने गर्दछ दर्जामूलक व्यवस्थामा कर्मचारीहरूको सहजै सरुवा हुने गर्दछ ।
निष्कर्ष
काम र विज्ञता अनुसार कर्मचारीहरूको नियुक्ति गर्ने कि सामान्य योग्यताका आधारमा कर्मचारी भर्ना गरी उनीहरूको व्यवस्थापन गर्ने र जिम्मेवारी दिने भन्ने बहस सिर्जना गरी निजामती सेवामा नयाँ रक्तसञ्चार गराउन सक्नुपर्दछ ।

२०८१ पुष ५, शुक्रबार ०५:३९ प्रकाशित
ट्रेन्डिङ समाचार