पृष्ठभूमि
–संसद्मा कुनै खास राजनीतिक दलका सांसदहरुको समूहलाई संसदीय दल भनिन्छ ।
–राजनीतिक दलको तर्फबाट निर्वाचित भई संसद् वा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद स्वतः सम्बन्धित राजनीतिक दलको संसदीय दलको सदस्य हुन्छन् ।
– निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित रहेर राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको संगठनलाई राजनीतिक दल भनिन्छ । राजनीतिक दल जनताको संगठन हुन् । राजनीतिक दलको सार्थक उपस्थितिमा नै लोकतन्त्र सम्भव हुन्छ ।
राजनीतिक दल र संसदीय दलबीचको सम्बन्ध
–राजनीतिक दल सम्बन्धी ऐन–२०७३ ले राष्ट्रिय दलको मान्यता पाउन कुनै पनि दलले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट अनिवार्य जित्नुपर्ने व्यवस्था गरेको छ । संसदीय दल भनेको राजनीतिक दलकै सांसदहरुको समूह हो । राजनीतिक दलको उद्देश्य प्राप्तिका लागि संसदीय दल संसद्मा क्रियाशील हुने गर्दछ ।
–राजनीतिक दलका आफ्ना नीति र कार्यक्रमहरु संसद् र सरकारमा सहभागी भई कार्यान्वयन गर्ने माध्यम संसदीय दल हुन् ।
–राजनीतिक दलले गठन गरेको संसदीय दलले संसद्मा बहुमत जुटाई सरकार गठन गर्न र सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रम, बजेट एवं विधेयकलाई पारित गर्न सक्रिय रहने गर्दछन् ।
– संसदीय दल प्रतिपक्षमा रहेको अवस्थामा सरकारका कमी,–कमजोरीको आलोचना गर्ने, राष्ट्र र जनताका समस्याका बारेमा संसद्मा आवाज उठाउने र सरकारले प्रस्तुत गरेको नीतिको सट्टा वैकल्पिक नीति प्रस्ताव गरी जनमत सिर्जना गर्ने र आगामी निर्वाचनमा आफ्नो राजनीतिक दललाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
–संसदीय दल राजनीतिक दलकै व्यवस्थापिकीय प्रतिनिधि भएकाले राजनीतिक दलको मूल नीति उल्लङ्घन गरेको अवस्थामा सरकारलाई मार्गदर्शन र आवश्यकतानुसार नियन्त्रण गर्ने कार्य राजनीतिक दलले गर्नुपर्दछ ।
–राजनीतिक दल र संसदीय दलबीच समन्वय र सहकार्य गर्दै उपरोक्त बमोजिमका दुई थरी मतबीच सामञ्जस्यता कायम गर्नु उपयुक्त मानिन्छ । राजनीतिक दल र संसदीय दल एकै सिक्काका दुई पाटा जस्तै हुन्, एक–अर्काको अभावमा ती पूर्ण हुँदैनन् ।
–राजनीतिक दलको अभावमा संसदीय दलको परिकल्पना गर्न सकिँदैन भने संसदीय दलको अभावमा राजनीतिक दलले आफ्नो नीति, घोषणापत्र र निर्वाचनमा गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा लैजान सम्भव हुँदैन ।
राजनीतिक दल र संसदीय दलविचको भिन्नता
– राजनीतिक दल समान राजनीतिक विचारधारा दर्शन र कार्यक्रमप्रति प्रतिबद्ध व्यक्तिहरुको समूह हो भने संसदीय दल संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरुको समूह हो ।
–सबै राजनीतिक दलका संसदीय दल नहुन पनि सक्छन् भने सबै संसदीय दलका आफू संलग्न राजनीतिक दल हुन्छन् ।
–राष्ट्रिय राजनीतिक दलका कार्यालयहरु सामान्यतया मुलुकभर रहन्छन् भने संसदीय दलको कार्यालय संसद्मा मात्र रहन्छ ।
–राजनीतिक दलको कार्यालय स्थापना र सो को सञ्चालनको आवश्यक व्यवस्था राजनीतिक दल स्वयंले गर्छन् भने संसदीय दलको कार्यालय स्थापना र सो को सञ्चालनका लागि आवश्यक व्यवस्था संसद सचिवालयले गर्दछ ।
– राजनीतिक दलको नियमनकारी निकायका रूपमा निर्वाचन आयोग रहेको हुन्छ भने संसदीय दलको नियमन संसदीय दलको नेता एवं सम्बन्धित राजनीतिक दलले नै गर्दछ ।
–राजनीतिक दल अविछिन्न उत्तराधिकारवाला संगठित संस्थाको रूपमा रहेको हुन्छ भने संसदीय दलको अस्तित्व निर्वाचनमा राजनीतिक दलको सहभागिता र सफलतामा निर्भर रहन्छ ।
संसदीय दलका कार्यहरु
– प्रतिनिधिसभामा बहुमत जुटाई सरकारको गठन गर्ने
– राजनीतिक दलको नीति अनुरूप संसद्मा क्रियाशील रहने
–राष्ट्र र जनताको हितमा कानुन निर्माण कार्यमा सक्रिय रहने
–संसद्मा प्रभावकारी प्रस्तुतिका लागि आवश्यक रणनीति तय गर्ने
– मुलुक र जनताका समस्याका सम्बन्धमा संसद्मा पैरवी गर्ने
– संसदीय दलका सदस्यहरुमा अनुशासन कायम गर्ने
– विवादित विषयमा सहमति कायम गर्न पहल गर्ने
निष्कर्ष
नेपालमा राजनीतिक दल प्रधान भएकाले सरकारले सत्तारूढ दलको निर्देशन पालना गर्नुपर्दछ भन्ने एकथरी मत र सत्ता सञ्चालनका लागि संसदीय दल प्रधान भएकाले राजनीतिक दलले सरकारको काममा हस्तक्षेप गर्नुहुँदैन भन्ने अर्को थरी मत पनि रहेको देखिन्छ ।
२०८१ मंसिर २१, शुक्रबार १६:४८ प्रकाशित