लोकसेवा विषयगत प्रश्नोत्तर : मुद्रा बजार तथा पुँजी बजारबीचको भिन्नता र समस्या पहिचान


१. मुद्रा बजार तथा पुँजी बजारबीचको भिन्नता स्पष्ट पार्दै मुद्रा एवं पुँजी बजार सँग सम्बन्धित समस्याहरू पहिचान गर्नुहोस् ।
पृष्ठभूमि
– सामान्यतया एक वर्षभित्र परिपक्व हुने उपकरणहरू खरिद–बिक्री हुने बजारलाई मुद्रा बजार भनिन्छ ।
– मुद्रा बजारले छोटो अवधिको लगानी गर्ने र सापटी लिने अवसर प्रदान गर्दछ ।
– सामान्यतया एक वर्षभन्दा बढी समयमा परिपक्व हुने वित्तीय सम्पत्ति वा साधनहरूको कारोबार हुने बजारलाई पुँजी बजार भनिन्छ ।
– पुँजी बजारबाट अर्थ व्यवस्थामा दीर्घकालीन वित्तीय प्रत्याभूतिहरूको कारोबार भई पुँजीको माग पूरा गरिन्छ ।
मुद्रा बजार तथा पुँजी बजार बीचको भिन्नता
– मुद्रा बजारमा अल्पकालीन रूपमा वित्तीय उपकरणको कारोबार हुन्छ भने पुँजीबजारमा दीर्घकालीन रूपमा वित्तीय उपकरणहरूको कारोबार हुन्छ ।
– मुद्रा बजारको उद्देश्य व्यवसायमा पुँजीको अल्पकालीन आवश्यकता परूरा गर्नु हो भने पुँजी बजारको उद्देश्य व्यवसायमा पुँजीको दीर्घकालीन आवश्यकता परूरा गर्नु हो ।
– मुद्रा बजारमा संलग्न वित्तीय संस्थाहरू केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरू, वित्तीय कारोबार गर्ने गैरबैंकिङ संस्थाहरू तथा नगद व्यवस्थाको कार्य गर्ने संस्थाहरू हुन् भने पुँजीबजारमा संलग्न वित्तीय संस्थाहरू स्टक एक्सचेन्ज बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू, मर्चेन्ट बैंकिङहरू तथा गैरबंैकिङ संस्थाहरू हुन् ।
– मुद्रा बजारका वित्तीय उपकरणहरू ट्रेजरी बिल्स, सर्टिफिकेट अफ डिपोजिट, कमर्सियल पेपर, बैंकर्स एसेप्टेन्स हुन भने पुँजीबजारका वित्तीय उपकरणहरू शेयर, डिबेन्चर, सरकारी सुरक्षणहरू, राष्ट्रिय वचतपत्रहरू, बन्ड, म्युचुअल फन्ड आदि हुन् ।
– मुद्रा बजारमा जोखिम कम हुन्छ भने पुँजीबजारमा जोखिम बढी हुन्छ ।
– मुद्रा बजारमा तरलता बढी हुन्छ भने पुँजीबजारमा तरलता कम हुन्छ ।
– मुद्रा बजारको अवधि बढीमा एक वर्ष हुन्छ भने पुँजीबजारको अवधि एक वर्षभन्दा बढी हुन्छ ।
– मुद्रा बजारमा प्रतिफल कम प्राप्त हुन्छ भने पुँजीबजारमा प्रतिफल बढी प्राप्त हुन्छ ।
मुद्रा बजारसँग सम्बन्धित समस्याहरू
– बैंक तथा वित्तीय संस्थाहरू माथिको निरीक्षण तथा सुपरीवेक्षण कार्य प्रभावकारी नभएको
– केन्द्रीय बैंकले निरीक्षण तथा सुपरीवेक्षणका क्रममा फेला पारेका कमी–कमजोरी एवं समस्याहरू र दिइएका सुझावलाई बैंक तथा वित्तीय संस्थाहरूले समयमै सम्बोधन नगरेको
– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई जारी गर्ने निर्देशनहरूमा निकै छोटो समयमा परिवर्तन गर्ने गरेको
– वित्तीय संस्थाहरूले व्यक्तिगत अधिविकर्ष प्रकृतिको जोखिमपूर्ण कर्जामा ठूलो परिमाणमा कर्जा प्रवाह गर्ने गरेको
– सूचना तथा तथ्याङ्क सम्प्रेषण व्यवस्था कमजोर रहेको
– संस्थाको कर्मचारी तथा सञ्चालन खर्च तुलनात्मक रूपमा बढ्दै गएको
– विकास बैंक तथा वित्त कंपनीहरूको निक्षेप परिचालनको आधार कमजोर रहेको
– आन्तरिक तथा बाह्य लेखापरीक्षणको गुणस्तर कमजोर रहेको
– वित्तीय संस्थाहरू समग्र जोखिम व्यवस्थापन गर्न सजग नरहेको
– उत्पादनमूलक, औद्योगिक, कृषि, पर्यटन आदि क्षेत्रमा पर्याप्त लगानी हुन नसकी शेयर र घरजग्गा जस्तो अत्यन्त जोखिमपूर्ण क्षेत्रमा कर्जा लगानी केन्द्रित भएको
– एक व्यक्ति वा समूहले धेरै संस्थामा लगानी गरी व्यक्तिगत तथा सामूहिक लाभ लिने गरेको
– बढ्दो अस्वस्थ प्रतिस्पर्धाले गर्दा एउटा संस्थामा पर्फर्मेन्स नराम्रो भएको ऋणीले अर्को संस्थाबाट सहजरूपमा कर्जा उपभोग गर्ने गरेको
– एउटा बैंक वा वित्तीय संस्थाले अर्को बैंक वा वित्तीय संस्थालाई ऋणीको बारेमा यथार्थ विवरण तथा सूचना प्रदान गराउने नगरेको
– उत्पादनशील क्षेत्रमा लगानीको अभाव रहेको
– अधिकतम रूपमा प्रतिफल लिने मनसायले बंैकिङ प्रणालीको मान्यता अनुसार राख्नुपर्ने जगेडा वा व्यवस्था पर्याप्त मात्रामा नराखी कृत्रिम मुनाफा देखाउन उत्प्रेरित गर्ने गरेको
– कार्यकारी पदमा बस्ने सञ्चालकहरूले कार्यसम्पादन क्षमता तथा बैंक तथा वित्तीय संस्थाको नाफाको स्थिति, संस्थाको भविष्य आदिलाई विचार नगरी आफ्नो तलब भत्ता एवं सुविधालाई महत्व दिने र संस्थाले धान्न नसक्ने खर्च सिर्जना गर्ने गरेको
– पर्याप्त सूचनाहरू तथा शुद्ध लेखापरीक्षणको अभाव रहेको
– नेपाल राष्ट्र बैंकको नियमकीय तथा सुपरीवेक्षकीय परिधि बाहिर रही वित्तीय कारोवार गर्ने कर्मचारी संचय कोष, नागरिक लगानी कोष तथा सहकारी संस्थाहरू मार्फत परिचालित हुने निक्षेपको ब्याजदर बढ्दै जाँदा त्यसबाट समग्र वित्तीय क्षेत्रमा ब्याजदर, निक्षेप संकलन र दीर्घकालीन कर्जा प्रवाहमा प्रतिकूल प्रभाव पर्ने गरेको
– बजारमा समय समयमा विशेष गरी राजश्व संकलनको समयमा तरलताको समस्या देखिने गरेको
– बैंक तथा वित्तीय संस्था सबै शाखाको सबै फाइलको सुपर भिजन नियमन गर्न नसकिएको
– निक्षेप लिने र लगानी गर्ने क्षेत्र स्पष्ट किटान नहुँदा विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थाले गर्ने काममा दोहोरोपना देखिएकाले ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको औचित्य माथि प्रश्न उठेको
– साना किसानले ऋण नपाएको
– कर्जा धितोमा लिएमा तिर्ने नभए धितो नलिई दिएको कर्जा नतिर्ने प्रवृत्ति रहेको
– ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढी देखिएको
– नयाँ ग्राहकले ऋणको लागि बैंकमा प्रवेश पाउन नसकेको
– ऋणको सावा ब्याज नतिरेर उठाउनुपर्ने सम्पत्ती बैंकले स्वीकार्ने पछि अदालतबाट फिर्ता गर्न आदेश दिने प्रवित्ति रहेको
– प्रत्येक वर्ष केवाइसी भर्नुपर्ने झन्झट र एकपटक/एक दिनमा झिक्न पाउने रकमको सीमाको कारण पूँजी पलायन भएर सहकारीमा गएको
– विदेशबाट आउने सबै रकम बैंकिङ च्यानलबाट ल्याउन नसकिएको तथा हुन्डी कारोबार रोक्न नसकिएको
– सहकारीको नियमन खुकुलो हुँदा बैंक वित्तीय संस्था डुब्ने, सहकारीले ठग्ने समस्या देखिएको
– लगानीकर्ता, कम्पनी, नियामक निकाय बीच छलफल तथा समन्वय विना नै छिटो–छिटो नीतिहरू परिवर्तन हुने गरेको
पुँजी बजारसँग सम्बन्धित समस्याहरू
– न्यून वित्तीय पहुँचले गर्दा शहर केन्द्रित व्यक्ति तथा संस्थाले मात्र मुद्रा तथा पुँजीबजारबाट लाभ लिन सकिरहेको
– पुँजीबजारमा वास्तविक क्षेत्रको प्रवेश एकदमै न्यून रहेको
– गैरआवासीय नेपाली तथा विदेशी लगानी तथा प्रविधिलाई पुँजीबजारमा प्रवेश गराउन नसक्ने
– पुँजीबजार पूर्ण स्वचालित हुने गरी अनलाइन कारोबारको शुरुआत भएको भए तापनि भरपर्दो रूपमा सञ्चालन हुन नसकेको
– नेपाली पुँजीबजारमा सीमित प्रकारका ऋणपत्रहरूको मात्र कारोबार हुने गरेको
– गैरधितोपत्रमुखी पूँजी परिचालनको अभ्यासमा कमी रहेको
– नेप्सले गर्ने सूचीकृत कम्पनीहरूको वर्गीकरण अन्तर्राष्ट्रिय अनुरूप हुन नसकेको
– निजी क्षेत्र ऋणपत्र जारी गरेर वित्तीय साधन जुटाउन अभ्यस्त नभएको
– ऋणपत्र बिक्री प्रबन्ध देशव्यापी रूपमा हुन नसकेको
– नेप्सेबाट सञ्चालित ओभर द काउन्टर कारोबार प्रभावकारी एवं स्वचालित प्रविधियुक्त हुन नसकेको
– धितोपत्र दलाल व्यवसायीहरूको चुक्ता पुँजी अत्यन्त न्यून रहेको
– स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको पनि वित्तीय विवरण समयमै प्रकाशित हुने नगरेको र लगानीकर्ता सुसूचित नभएको
– भित्री कारोबार नियन्त्रण हुन नसकेको
– पोर्टफोलियो लगानी, भेन्चर क्यापिटलको कार्यान्वयन हुन नसकेको
– कारोबार गर्दा दलाल दस्तुर तथा पुँजीगत लाभकारको दरलाई कम गर्न नसकिएको
– पुँजीबजारमा वित्तीय उपकरणहरूको आपूर्ति धेरै भइरहेको समयमा सोलाई धान्न सक्ने माग सिर्जना गर्नको विभिन्न रणनीतिहरू अवलम्बन गर्न नसकिएको
– नेपालको पुँजीबजार बाह्य बजारसँग आबद्ध हुन नसकेको
निष्कर्ष
मुद्रा बजार र पुँजी बजारमा सन्तुलन कायम नहुँदा मुद्रा तथा बजारको यथोचित विकास र स्थायित्वलाई मात्र असर पु¥याउने मात्र नभई समग्र आर्थिक विकासलाई प्रभावित गर्दछ । मुद्रा बजार तथा पुँजी बजारको विकासलाई आर्थिक विकाससँग आबद्ध गर्न सकेमा मात्र आर्थिक स्थायित्व कायम गर्न सकिन्छ ।

 

२०८१ आश्विन २८, सोमबार ०७:२८ प्रकाशित
ट्रेन्डिङ समाचार